राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका हुन् ।
काठमाडौँ ।
शीतल निवासमा तीन दलका शीर्ष नेताहरूसँग पहिलोपटक राष्ट्रपति र प्रधानमन्त्रीले छलफल गरेका छन् । मंगलबार प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निर्वाचनका विषयमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले छलफल गरेका हुन् । राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताबीच भेट भएको हो ।
राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री कार्कीसहित नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा भएको थियो । कार्की प्रधानमन्त्री बनेपछि शीर्ष नेतासँगको यो पहिलो भेट हो ।
उनीहरूबीच झण्डै साढे २ घण्टा छलफल भएको थियो । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । मंगलबार पहिलोपटक राष्ट्रपतिको पहलमा उनले प्रत्यक्ष संवाद गरेकी हुन् । शीर्ष नेताहरूसँग राष्ट्रपति र प्रधानमन्त्रीले छलफलमा आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा समझदारी भएको बताइएको छ ।
उनका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको बताए । ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गाम्भीर्यलाई ध्यानमा राखेर निर्वाचन सफल बनाउनेतर्फ लाग्नु हामी सबैको दायित्व हो’, राष्ट्रपति पौडेलले छलफलमा बताएको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार पोखरेलले भने ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि निर्धारण भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए । छलफलमा एमाले अध्यक्ष ओलीले शान्ति सुरक्षामाथि प्रश्न उठाएका थिए । शीतल निवासमा भएको छलफलमा अध्यक्ष ओलीले प्रमुख राजनीतिक दलका नेताहरूको सुरक्षाको विषय गम्भीर भएको बताएका हुन् ।
ओलीले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने, राजनीतिक दललाई निषेध गर्ने, शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव हुन नसक्ने बताएको उनको सचिवालयले जनाएको छ । दलहरू निर्भयपूर्वक चुनावमा जाने, उम्मेदवारले प्रचारप्रसार गर्ने, मतदाताले बिनाडर भोट हाल्ने वातावरण सरकारले ग्यारेन्टी गर्नुपर्ने ओलीको अडान थियो । काँग्रेस सभापति देउवाले पनि शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाएका थिए ।
नेकपा संयोजक दाहालले पनि सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको बताएको उनको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री कार्कीले विषम् परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले बताएका छन् ।
यस्तै राष्ट्रपति पौडेलसँग तीन दलका शीर्ष नेताले छुट्टै छलफलसमेत गरेका थिए । छलफलबाट प्रधानमन्त्री कार्की बाहिरिएपछि राष्ट्रपति पौडेल, काँग्रेसका सभापति देउवा, नेकपा एमालेका अध्यक्ष ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले छुट्टै छलफलमा गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्