शिशु पुनः जीवित देखिएको घटनामा भेरी अस्पतालद्वारा दुःख व्यक्त



नेपालगन्ज ।

भेरी अस्पताल नेपालगन्जले समय अगावै गर्भ खसेको एक शिशु मृत भएको भनेर परिवारलाई बुझाइएकोमा पुनः जीवित रहेको संकेत देखिएको घटनामा दुःख व्यक्त गरेको छ । साथै उक्त अवस्थाबारे आफन्तहरूलाई सही तरिकाले बुझाउन प्रभावकारी सञ्चार र परामर्शमा कमजोरी भएको अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वीकार पनि गरेको छ ।

पुस २८ गते अस्पतालमा भर्ना भएकी एकजना गर्भवती महिलाको ‘गर्भ खसेर’ जन्मिएको शिशु जीवित नरहेको जानकारी दिई पठाएकोमा परिवारले सद्गत गर्ने क्रममा चार घण्टापछि जीवित रहेको संकेत देखिएको थियो । त्यसपश्चात परिवारजनले उक्त बच्चालाई सन्जिवनी अस्पतालमा भर्ना गरी पुनः उपचारमा राखेकोमा २९ गते शिशुको मृत्यु भएको पुनः घोषणा गरिएको थियो ।

बिहीबार भेरी अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त शिशुको गर्भावस्था २३ हप्तामात्रै पुगेको, भिडियो एक्सरेमा तौल ६ सय १७ ग्राम मात्रै देखिएको, मुटुको चाल कम रहेको, आमालाई ज्वरो आएको र रगतमा संक्रमणका लक्षणहरू देखिएको कारणले गर्भावस्थालाई निरन्तरता दिन नसकिएको तर आमाको जीवन बचाउने प्रयास गरिएको बताएको छ । २८ हप्ताभन्दा कमको गर्भ र एक हजार ग्रामभन्दा कम तौलको शिशुलाई जीवित तुल्याउन नसक्ने अवस्थामा परिवारलाई हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

तर, अस्पतालले जीवित नरहेको भन्दै आफन्तलाई जिम्मा लगाएको ४ घण्टापछि शिशुमा जीवित भएको लक्षण देखिएको थियो । यस्तो हुनुका पछाडिको कारण पत्ता लगाउन अस्पताले गठन गरेको छानबिन समितिको प्रतिवेदनले अपवादको रूपमा देखिने सस्पेण्डेड एनिमेशन र लजारस फेनमेनन कारण रहेको उल्लेख गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा. निराजन सुवेदीले जानकारी दिए ।

सस्पेण्डेड एनिमेशन भनेको जीवनक्रियाहरू सास, मुटुको धड्कन, पाचन प्रणाली अत्यन्तै न्यून वा लगभग रोकिएको अवस्थामा पुग्नु, तर व्यक्ति पूर्णरूपमा मरेको नहुने अवस्था रहेको डा.सुवेदीले बताए । २३ हप्ताको शिशुमा फोक्सो, मुटु, स्नायु प्रणाली पूर्ण विकसित नहुने हुँदा शिशु मरेको जस्तो देखिने, मुटुको धड्कन स्टेथोस्कोपले समेत तुरुन्त नसमात्ने उनले बताए । यस्ता शिशुमा सास र धड्कन देखिन नसक्ने स्तरमा झर्ने, केही समयपछि तातो, हावा, वा हल्ला पाएपछि पुनः सक्रिय हुन सक्ने उनले बताए ।

यसैगरी लजारस फेनमेनन भनेको सास रोकिसकेपछि र व्यक्तिलाई मृत घोषणा गरिसकेपछि केही मिनेटपछि अचानक मुटु चल्नु वा सास आउनु भएको उनले बताए । चिकित्सा विज्ञानले यसो हुनुका कारणहरूमा सिपिआर गर्दा फोक्सोभित्र थुनिएको हावा विस्तारै बाहिर निस्कँदा मुटुमा पुनः रक्तसञ्चार सुरु हुनु, मुटुको औषधिको ढिलो प्रभाव देखिनु, इलेक्ट्रोलाइट सन्तुलन अचानक ठीक हुनु, मुटुको विद्युतीय गतिविधि ढिलो तर अचानक सक्रिय हुनुलाई बुझिन्छ ।

लजारस फेनमेनन अत्यन्तै दुर्लभ घटना हुने विभिन्न चिकित्सकीय जर्नलमा रिपोर्टमा उल्लेख छ । तर, अस्पतालले २३ हप्ताको शिशुमा उक्त समस्या देखिन सक्ने कुरालाई ध्यानमा राख्दै यस विषयमा आफन्तहरूलाई पर्याप्त काउन्सिलिङ नभएको स्वीकार्दैे उक्त कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको छ । डा. सुवेदीले उक्त घटनाका सम्बन्धमा थप स्पष्टीकरण दिन आज शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार