सुर्खेत ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार छनौटमा नेपाली काँग्रेस कालीकोटमा विवाद देखिएको छ । जिल्ला सभापति अम्मबहादुर शाही पक्षले एउटा उम्मेदवारको नामावली सिफारिस गरेर पठाएको छ । भने त्यसमा विमति जनाउँदै उपसभापति मीनबहादुर बोगटी पक्षधरले अर्कोे नामावलीसहितको सिफारिस पत्र केन्द्रमा पठाएका हुन् ।
सभापति शाही पक्षले युवा नेता भुपेन्द्र शाहीसहित तीन जनाको नाम सिफारिस गरेका छन् । शनिबार सम्पन्न नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठकले युवा नेता शाहीसहित तीन जनाको नाम सिफारिस गरेको हो । काँग्रेस कालीकोटले पहिलो नम्बरमा शाही, दोस्रोमा पार्टी सभापति अम्बबहादुर शाही र महिलातर्फ सीता रावलको नाम सिफारिस गरेको छ ।
नेता भुपेन्द्र शाही २०७० सालको दोस्रो संविधानसभा र २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत हुन् । शाही नेपाल विद्यार्थी संघको विद्यालय इकाई कार्यसमिति हुँदै नेविसंघ केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्षका साथै नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलको केन्द्रीय महासचिव पनि भइसकेका नेता हुन् ।
तर, उक्त सिफारिसप्रति विमति जनाउँदै उपसभापति बोगटी पक्षले फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकमुष्ट नाम सिफारिस गरेको छ । जसमा पूर्व जिल्ला सभापति हर्षबहादुर बम, नारायणप्रसाद भट्टराई, दमनराज बम, केशरजंग बम र जीवन सुवेदीलाई उम्मेदवार चयन भएका छन् ।
त्यस्तै समानुपातिकतर्फ पूर्व जिल्ला सभापति कालीबहादुर सहकारी, मुक्तीप्रसाद न्यौपाने, भावनाकुमारी शाही, छाया सुनार र भरत विकलाई सिफारिस गरेको छ । राष्ट्रियसभातर्फ विष्णुबहादुर शाही र दानबहादुर बमलाई सिफारिस गरेको छ । पार्टीको निर्णय विपरित एकलौटी रूपमा सिफारिस गरिएकोले आफूहरूले आधिकारिक रूपमा उम्मेदवार छनौट गरेको उपसभापति मीनबहादुर बोगटीले जानकारी दिए ।
उम्मेदवार टुंग्याउन सकस सकस
पार्टीभित्र आकांक्षी धेरै भएपछि नेपाली काँग्रेस जुम्लालाई उम्मेदवार टुंग्याउन सकस भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनौट गर्न मंसिर २४ गतेदेखि निरन्तर बैठक बसेछि उम्मेदवार टुंग्याउन सकस भएको हो । चार दिनको निरन्तर छलफलपछि पनि उम्मेदवार टुंगो नलागेको काँग्रेस जुम्लाका प्रवक्ता मेघराज गिरीले जानकारी दिए । उनका अनुसार सामान्य छलफल धेरै भइसक्यो । तर आधिकारिक निर्णय भएर सिफारीस गर्नेसम्मको निर्णय हुन सकिरहेको छैन प्रत्यक्षतर्फको उम्मेदवारमा ७ जनाले दाबी गरेकोमा तीन जनामा झरेको छ ।
अहिले पूर्व सांसद कान्तिका सेजुवाल, काँग्रेस सभापति कर्णबहादुर शाही र पूर्व उपसभापति खड्कबहादुर सेजुवालको नाममा छलफल चलिरहेको छ । प्रत्यक्षमा पनि उम्मेदवार घटाउने विषयमा छलफल भइरहेको प्रवक्ता गिरीले जानकारी दिए । प्रतिनिधि सभाका लागि एकै जनाको नाम सिफारिस गरेर पठाउने कसरतमा जुटेको जुम्ला काँग्रेसलाई टुंगोमा पुग्नै मुस्किल भएको हो ।
त्यस्तै समानुपातिकमा पनि धेरै आकांक्षी भएपछि छनोट प्रक्रिया लम्बिएको छ । भने राष्ट्रियसभामा पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया र काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीको नाम सिफारिस गर्ने तयारी छ । तर, एकै जनाको सिफारिस हुनुपर्ने भन्दै छलफल चलिरहेको छ । अन्य जिल्लामा काँग्रेसका उम्मेदवार धमाधम सिफारिस भईरहेको बेला जुम्लामा किचलो देखिएको हो । धेरैले प्रतिनिधिसभामा काँग्रेस सभापति कर्णबहादुर शाहीको नाम एकल सिफारिस गर्नुपर्ने पक्षमा उभिएको बुझिएको छ ।
तर, समानुपातिक र राष्ट्यिसभाका लागि कसलाई सिफारिस गर्ने भन्नेबारे विषय गिजोलिदै गएको छ । अर्कोतिर प्रतिनिधिसभाका लागि पूर्वसांसद कान्तिका सेजुवाल पनि जुम्लामा काँग्रेसको बलियो उम्मेदवार हुन सक्ने चर्चा छ । नेपालकै प्रथम मेयरको परिचय पाएकी सेजुवालले प्रत्यक्षतर्फ चुनाव लडि जुम्लाको नेतृत्व गर्ने दृढ ईच्छा शक्तिसहित नेता कार्यकर्तालाई सहयोग गर्न अपिल गर्दै आएकी छन् ।
पुरानै अनुहार सिफारिस
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट अधिकांश पुरानै अनुहार उम्मेदवार बनिरहेका छन् । पहिलो चरणमा हरेक निर्वाचन क्षेत्रबाट प्रस्तावित उम्मेदवारको नाम सिफारिस गर्नेक्रम जारी छ । तर, क्षेत्रीय समितिले निर्णय गरेर जिल्लालाई नाम पठाउँदा अधिकांश पुरानै अनुहार दोहोरिएको काँग्रेसका नेता कार्यकर्ताले गुनासो गरेका छन् ।
जसमा सुर्खेतबाट पनि पुरानै अनुहार सिफारिस भएका छन् । प्रतिनिधिसभातर्फ सुर्खेतमा दुई वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ क्षेत्रीय कार्यसमितिले पूर्णबहादुर खड्काको एकल नाम जिल्लालाई सिफारिस गरेको छ । काँग्रेसको कार्यवाहक सभापतिसमेत रहेका रहेका खड्का गत निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।
यसैगरी सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट पनि पुरानै नेता हृदयराम थानी आगामी उम्मेदवारका लागि सिफारिस भएका छन् । तर, यसपटक थानीको एकल नाम भने सिफारिस गरिएको छैन । उनीसहित अन्य पाँच जना पनि सिफारिसमा परेका छन् । थानी ६ पटक संसदीय चुनाव लडिसकेका छन् । २०५१ यताका सबै संसदीय निर्वाचनमा उनी सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट काँग्रेसको उम्मेदवार बन्दै आएपनि तीन पटक निर्वाचन जितेका थिए ।
थानीसहित उपेन्द्र थापा, कलम खत्री, नारायण कोइराला, भीष्मराज हमाल र वसन्ती बस्नेतका नाम सिफारिस गरिएको हो । सुर्खेतमा जस्तै कर्णालीका अन्य जिल्लामा पनि धमाधम पुरानै उम्मेदवार सिफारिस भइरहेका छन् । दैलेखका दुई वटै निर्वाचन क्षेत्रका लागि नाम टुंगो लगाइएको नेपाली काँग्रेस दैलेख जिल्ला सभापति मणिराम रेग्मीले बताए ।
उनका अनुसार निर्वाचन क्षेत्र नं. १ का लागि १३ जनाको नाम सिफारिस गरिएको छ । भने समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ । यस्तै दैलेखकै निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस भएको छ । भने समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्