चौथोपटक मन्त्रीपरिषद् विस्तार



जेनजी विद्रोहपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । शुक्रबार कार्कीले चौथोपटक मन्त्रीपरिषद् विस्तार गरिन् । योसँगै कार्की नेतृत्वको मन्त्रीमण्डल १४ सदस्यीय बनेको छ । प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन् ।

 शुभाकर विश्वकर्मा ।कोहलपुर (बाँके) ।

प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रीपरिषद् विस्तार गरेकी छन् । भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रीपरिषद् विस्तार गरेकी हुन् । चौथोपटक विस्तार भएको मन्त्रीपरिषद्मा ४ जना मन्त्री थपिएका छन् । नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । मन्त्रीहरुले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था, राजेन्द्रसिंह भण्डारीले श्रम, माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा पाएका छन् । उद्योग र कानुनमन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ । अन्य मन्त्रीहरुको जिम्मेवारी भने यथावत रहेको छ । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रीपरिषद् विस्तार गर्दा परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालय आफूसँगै राखेकी छन् । यसअघि मन्त्रीपरिषद् १० सदस्यीय थियो ।

अब कार्की नेतृत्वको मन्त्रीपरिषद् १४ सदस्यीय भएको छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्री कार्की २७ गते नियुक्त भएकी थिइन् । उनले पहिलो पटक भदौ ३० गते तीन मन्त्री नियुक्त गरेकी थिइन् । पहिलो चरणमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भएका थिए । खनालले अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

ओमप्रकाश अर्यालले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । दोस्रोपटक असोज ६ गते मन्त्रीपरिषद् विस्तार भएको थियो । त्यतिबेला महावीर पुन, मदन परियार र जगदीश खरेल बन्त्री बनेका थिए । पुन शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि तथा पशुपन्छी विकास र खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तेस्रोपटक कात्तिक ९ गते मन्त्रीपरिषद् पुनर्गठन गरेर १० सदस्य पु¥याइएको थियो । त्यसबेला डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ता युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।

यस्तो छ, नवनियुक्त मन्त्रीको पृष्ठभूमि

माधव चौलागाईं

जुम्ला तातोपानी गाउँपालिका–५ लाम्रामा जन्मिएका माधव चौलागाईं मन्त्री बनेका छन् । उनी कार्की सरकारको वन तथा वातावरण मन्त्री बनेका छन् । उनले ग्रामीण विकासमा एमए, एमपीएच गरेका छन् । लेखन एवं अनुसन्धानमा दखल राख्ने उनले कर्णालीको इतिहास, संस्कृति, समाज र विकासका बारेमा अध्ययन गरिरहेका छन् । उनले दुई दशकभन्दा बढी समय जनस्वास्थ्य र विकास क्षेत्रमा बिताएका छन् । चौलागाईं लेखक, गीतकार र जनस्वास्थ्यविज्ञ हुन् । उनको ‘सपादलक्ष कर्णाली’ पुस्तक पनि प्रकाशित छ । चौलागाईं कर्णालीमा हुने ‘कुडा कर्णाली उत्सव’को विशेष पहलकर्ता पनि हुन् ।

कुमार इङ्नाम

इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी काठमाडौँ स्कुल अफ ल का प्राध्यापक एवम् फौजदारी कानुनका विशेषज्ञ हुन् । उनले २५ वर्षदेखि त्यहाँ अध्यापन गराइरहेका छन् । २०४६ सालमा इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट अध्यापन सुरु गरेका उनका कैयौँ शोधग्रन्थ प्रकाशित छन् । उनी नेपाललगायत कैयौँ मुलुकमा अतिथि प्राध्यापकको रुपमा संलग्न छन् । उनका दर्जनौँ, पुस्तक, शोधन र अनुसन्धानात्मक लेख प्रकाशित छन् । उनले वित्तीय अपराध, अन्तर्राष्ट्रिय व्यापारका विषयमा पुस्तक लेखेका छन् ।

राजेन्द्रसिंह भण्डारी

भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी नेपाल प्रहरीको पूर्वएआईजी हुन् । उनी नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक पदबाट अवकाश भएका थिए । उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का संस्थापक प्रमुखसमेत हुन् । उनी पछि नेपाल प्रहरी अध्ययन प्रतिष्ठानको पनि प्रमुख भए । उनी आफ्नो कार्यकालमा अनुसन्धानमा पोख्न प्रहरी अधिकारीको रुपमा चिनिन्थे ।

श्रद्धा श्रेष्ठ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी पाएकी श्रद्धा श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक हुन् । उनी पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटीपी)की राष्ट्रिय परियोजना संयोजक पनि हुन् । काठमाडौँकी श्रेष्ठ पर्यटन बोर्डमा २४ वर्षदेखि कार्यरत थिइन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकास अध्ययन गरेकी छिन् । उनी फुलब्राइट फेलो पनि हुन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार