पछिल्ला केही वर्षयता विभिन्न कार्यक्रमहरुमा बालबालिकाको प्रयोग बढ्दो रुपमा देख्न पाइन्छ । राजनीतिक दलका कार्यक्रममा होस् या विभिन्न मेला महोत्सवमा होस् । विभिन्न सरकारी निकाय तथा गैरसरकारी पक्षको आयोजनामा हुने विभिन्न किसिमका कार्यक्रमहरुमा विद्यालयका बालबालिकाहरुको प्रयोग गरेर भिड देखाउने गरिँदै आएको देखिन्छ । प्रायः गरेर १० वर्षदेखि माथिका बालबालिकाहरुलाई प्रयोग गर्ने कार्य हुँदै आएको छ । राजनीतिक दलका आमसभाहरु, चुनावी कार्यक्रमहरु, विभिन्न मेला महोत्सव तथा चेतनामूलक नामका कार्यक्रमहरुमा विद्यालयका बालबालिकाहरुलाई लगेर ¥यालीमा प्रदर्शनी गराउने गरिन्छ । जसले गर्दा बाल अधिकार हनन भइरहेका हुन्छन् । बाल अधिकारको विषय, बाल अधिकारको संरक्षण एवम् प्रवर्धनका सवालहरुमा सम्पूर्ण पक्षको गम्भीर ध्यानाकर्षण हुन जरुरी छ । बालबालिकाहरुको मानसिक अवस्था पूर्णरुपमा विकसित नभइसकेको हुँदा उनीहरु विद्यालयमा पढ्न भन्दा पनि त्यस किििसमका बाह्य कार्यक्रमहरुमा जान रुचाउने गर्दछन् । जसले गर्दा उनीहरुमा अध्ययनका सट्टा पनि अन्य बाह्य क्रियाकलापको छाप बस्न जान्छ र उनीहरु कालान्तरमा अध्ययन भन्दा पनि बाह्य क्रियाकलापमा सक्रिय हुने गर्दछन् । जसका कारण बालबालिकाहरुको भविष्य अन्धकार हुन जान्छ । बालबालिकाहरुलाई भविष्यमा देश निर्माण गर्ने जनशक्ति र भविष्यका कर्णधार भन्ने गरिन्छ । यो सत्य पनि हो । यसलाई पूर्णता दिनका लागि उनीहरुका अधिकारहरु सुनिश्चित गर्दै अध्ययन शैली बढाउन आवश्यक छ ।
सानै उमेरदेखि बालबालिकाहरुलाई राजनीतिक गतिविधि तथा अन्य गतिविधिमा संलग्न गराउँदा उनीहरुको शारीरिक एवम् मनोवैज्ञानिक हानि पुग्ने हुन्छ । बालबालिकाहरुलाई अध्यापन गराउने सम्बन्धित विद्यालयहरु र सम्बन्धित आयोजकहरुले यस विषयमा गम्भीर हुनु जरुरी छ । बालबालिकालाई दुरुपयोग गरी उनीहरुको पढ्न लेख्न पाउने अधिकारलाई बन्देज गरी विभिन्न कार्यक्रमहरुमा सहभागी बनाइनु कानुनी अपराध पनि हो । सम्बन्धित सरोकारवाला निकायले यस विषयमा गम्भीर बन्न आवश्यक छ । अहिले मेला महोत्सवको मौसम चलिरहेको छ । देशका विभिन्न स्थानहरुमा दैनिकजसो मेला महोत्सवहरु आयोजना हुँदै आएका छन् । यी मेला महोत्सवमा सबैभन्दा बढी विद्यालयकै बालबालिकाहरुलाई सहभागी बनाएर सडक ¥याली प्रदर्शन गर्ने गरिन्छ । एउटा मात्र नभएर त्यस क्षेत्रका सम्पूर्ण बालबालिकाहरुलाई ¥याली प्रदर्शनीमा उतार्ने गरिन्छ । जसका कारण उनीहरु पढ्न लेख्नबाट वञ्चित भइरहेको हुन्छन् । सरकार, सरोकारवाला संघसंस्था, विद्यालय आदीले आआफ्ना अधिकारहरु प्रयोग गरेर बालबालिकाको प्रयोगलाई नियन्त्रण गर्न जरुरी छ ।
विद्यालयहरुमा समेत पढाइलेखाइ नै बन्द गरेर विभिन्न राजनीतिक दलका कार्यक्रमहरु हुने गर्दछन् । जसका कारण पनि उनीहरुका अधिकार वञ्चित भइरहेका छन् । सरोकारवाला पक्षले अनुगमन गरी त्यसतो पाइएमा कानुनअनुसार विद्यालयहरुलाई कारबाही समेत गर्न आवश्यक छ । बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैको हुँदैन् । संविधानले सुनिश्ति गरेको उनीहरुको पढ्न लेख्न पाउने अधिकारलाई दुरुपयोग गरेर उनीहरुलाई गलत रुपमा प्रयोग गर्ने कार्य बन्द हुनु जरुरी छ । बालबालिकाका निम्ति गरिने प्रत्येक कार्यहरु बालबालिकाका लागि सबैभन्दा उपयुक्त हुनुपर्छ । सबै पक्षबाट बालबालिकालाई फाइदा र कल्याण हुने कार्य हुनुपर्दछ । सार्वजनिक तथा कल्याणकारी संस्थाहरुले कुनै पनि कार्य गर्दा बालबालिकालाई नकारात्मक प्रभाव पर्ने कुनै पनि कार्य गर्नु हुँदैन । बालबालिकासँग सम्बन्धित कार्य गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिन जरुरी छ । बालबालिकाको गलत प्रयोग भइरहँदा अनुगमन तथा कारबाही गर्ने अधिकार पाएका सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण भइ त्यसता विद्यालय तथा आयोजकहरुलाई सचेत बनाउँदै कानुन कारबाहीको दायरामा समेत लिन आवश्यक छ । गलत रुपमा बालबालिकाको प्रयोग नगरौँ, उनीहरुको अधिकारलाई सम्मान गरौँ ।









प्रतिक्रिया दिनुहोस्