हुम्ला ।
सबैभन्दा पछि राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हिमाली जिल्ला हुम्लामा सात वर्षमा ७३ वटा सवारी दुर्घटना हुँदा ३६ जनाले ज्यान गुमाएका छन् । सडक नजोडिँदै हेलिकोप्टरमा ल्याइएका यातायातका साधन ग्रामीण सडकमा सञ्चालन हुन थालेपछि पहिलो दुर्घटना २०७६–०७७ मा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सात वर्षमा ७३ सवारी दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ भने १४६ घाइते र ६७० सवारीसाधन प्रहरी कारबाहीमा परेका छन् । सडक सञ्जाल जोडिएको पहिलो आर्थिक वर्ष २०७६–०७७ मा दुई वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । यस्तै २०७७–०७८ मा सात जनाको मृत्यु र ५ जना घाइते भएका थिए । २०७८–०७९ मा भएको एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको थियो ।
त्यसैगरी २०७९–०८० मा ११ वटा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो भने ६ जना अझै बेपत्ता छन् । २०८०–०८१ मा १७ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र ३५ जना घाइते भएका थिए । २०८१–०८२ मा ३१ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु र ४२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार चालू आव २०८२–०८३ को असोजसम्म नौ वटा सवारी दुर्घटना भएका छन् । जसमा पाँच जनाको मृत्यु र ४४ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख छ । कच्ची सडकका साथै लाइसेन्सबिनाका चालकले सवारीसाधन चलाउँदा अधिकांश दुर्घटना भएको पाइएको छ ।
तथ्यांकअनुसार २०८१–०८२ मा जिल्लाभर ५६२ वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरिएको थियो ।
क्षमताभन्दा बढी भार बोकेको सवारीसाधनबाट चार लाख ६१ हजार रूपैयाँ राजस्व संकलन भएको प्रहरीले बताएको छ । २०८२–०८३ को साउनदेखि असोज मसान्तसम्म १०८ वटा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट ८० हजार रूपैयाँ राजस्व संकलन भएको छ । हाल हुम्लामा दुई अस्थायी ट्राफिक पोष्ट सर्केगाड र मैला–कबाडी सञ्चालनमा रहेका छन् ।
प्रहरी हवल्दार भीमबहादुर बुढाले नागरिकलाई सवारीसाधन दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालनामा सहयोग गर्न आग्रह गरिएको छ । सवारी दुर्घटना कम गर्न ट्राफिक नियमको पूर्णपालना गर्न उनको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्