चिसो छल्न भेडाबाख्रालाई औल झार्न सुुरु



रामप्रकाश विक । जुम्ला ।

जाडो बढेसँगै जिल्ला आसपासका भेडाबाख्रा औल अर्थात् रातो स्थानमा लिन सुुरु गरिएको छ । हिमाली पाटनहरू हिउँले ढाकिँदै गएपछि चिसो छल्न र चरन क्षेत्रका लागि हिउँदयाममा किसानले भेडाहरू औल झार्ने गरेका छन् । चिसो बढ्दै जाँदा उच्चलेकमा चरिरहेका भेडाहरू ‘औल’तर्फ झार्ने चलन वर्षौँदेखि रहिआएको छ । बर्सेनि दोहोरिने यो यात्रासँगै भेडापालकहरूको जीवनयात्रा पनि हिमालदेखि तराईसम्म सरेर बस्ने चलन छ ।

जिल्लाको सिंजा, हिमा, तिला, पातारासी, गुठिचौर, तातोपानी र कनकासुन्दरी गाउँपालिका तथा चन्दनाथ नगरपालिकाका किसानहरूले भेडापालन गरेर जीविकोपार्जन मात्रै गरिरहेका छैनन्, पुस्तौँदेखि चलिआएको संस्कृतिसँग जोडिएको यो उनीहरूको मुख्य पेशा पनि हो । चन्दनाथ नगरपालिका–८ का सन्तोष बोहराले गर्मीमा हिमालतिर पुग्ने जाडो बढेसँगै औलतिर गर्दै भेडापालक किसानको उकाली ओराली यात्रा जारी रहेको बताए ।

‘भेडालाई एकै ठाउँमा बाँधेर पाल्न सकिँदैन । भेडापालक किसानले मौसमअनुसार हिँड्नैपर्छ,’ उनले भने, ‘यो पेशा मेहनत र जोखिमले भरिएको पेशा हो । हिमालको चिसो र तराईको ताप दुवै भेट्नुपर्छ । यही सिलसिलाले भेडापालकको जीवन सधैँ यात्रामै बित्छ ।’ करिब एक सय भेडासहित औल झर्दै गरेका सन्तोष बोहराले बर्खा सिजनको भेडाको ऊन काटिसकेपछि औलमा झर्दा न्यानोले फेरी ऊन उत्पादन हुने बताए ।

‘भेडाका लागि औल केबल चरन क्षेत्र मात्र होइन । हाम्रा लागि ऊन संकलनको मुख्य समय र स्थल पनि हो,’ उनले थपे, ‘भेडाको ऊनबाट राडी–पाखी बनाइ बेच्दा राम्रो आम्दानी हुन्छ । तर कहिले हिमाल त कहिले तराई पुग्नुपर्छ । परिवार र चाडपर्व भन्न पाइँदैन ।’ अर्का किसान हिमाल बोहोराले युवापुस्ताले यस्ता कठिनाइ देखेर यो पेशातिर आकर्षण हुन नसकेको बताए । ‘वार्षिक आम्दानी ५–७ लाखसम्म आउँछ । तर, कठिनाइले पेशा नै संकटमा परेको छ,’ उनले भने, ‘भेडा अत्यधिक चिसो र अत्यधिक गर्मी दुवै सहन सक्दैन । गोठस्थान निरन्तर परिवर्तन गर्नुपर्ने बाध्यता छ ।’

उनका अनुसार जाडो सुरु हुनेबित्तिकै जुम्ला, मुगु, डोल्पाका पाटनहरू हिउँले ढाकिन थाल्छन् । त्यसपछि गोठाला परिवारसहित औल झर्न लामो यात्रा आरम्भ हुन्छ । जुन वैशाख महिना सकिनेबेला घर फर्कन्छ । हिउँदभरि गोठालाहरू परिवार, भेडा र गोठालाका कुकुर लिएर औलका बस्तीहरूमा बस्छन् । यात्रा कठिन भए पनि पिढी–दर–पिढी चल्दै आएको यही चक्रमा उनीहरूको जीवन टिकेको छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लामा करिब ८८ हजार भेडा र ४६ हजार ३०६ बाख्रा छन् । करिब ६९ हजार हेक्टर चरन क्षेत्र रहेपनि हिउँदमा अधिकांश क्षेत्र अवरुद्ध हुने भएकाले गोठ स्थानान्तरण अनिवार्य बन्छ । प्रकृतिसँगको सहयात्रामा बाँधिएको यही पेशाले जति कष्ट दिन्छ, उतिनै पहिचान र गर्व पनि बोक्छ ।

हिमालको अँगालोमा सुरु भएर तराईको घाममा टिका लगाउने जुम्लाका भेडापालकहरूको जीवन संघर्ष र सम्भावनाको संगममा बगिरहेको छ । जुम्लाका यी भेडापालकहरूको वार्षिक यात्रा केवल चरन खोज्ने कथा मात्र होइन । यो पहाडी जनजीवन, संस्कृतिको निरन्तरता र प्रतिकूल भौगोलिक अवस्थासँगको अदम्य सहनशीलताको जीवित दस्तावेज पनि हो ।

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर १७ गते बुधबार