नेपालगन्ज ।
नवरात्रमा राखिएको देवीका मूर्ति विसर्जनका क्रममा उत्पन्न विवादपछि बाँके प्रशासनले असोज १८ गते जारी गरेको निषेधित क्षेत्रको आदेश १५ दिनपछि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक २ गते आइतबार एक सूचना जारी गर्दै असोज १८ गते साँझ ७ बजेबाट अर्को आदेश नभएसम्मका लागि जारी गरेको निषेधित क्षेत्रको आदेश हटाइएको जानकारी दिएको छ ।
उक्त सूचनामा असोज २८ गते जारी भएको निषेधाज्ञा पनि हटाइएको जानकारी दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीद्वारा जारी सूचनामा हाल जिल्लाको शान्तिसुरक्षाको अवस्था सुधार भई सामान्य भएको र हिन्दुहरुको पर्व दिपावली हर्षाेल्लासपूर्वक मनाउने वातावरण सृजना गर्ने हेतुले उक्त निषेधित क्षेत्र घोषणा आइतबार राती १० बजेदेखि लागू हुनेगरी हटाइएको भनिएको छ ।
प्रशासनले विवादपश्चात शान्ति सुरक्षा कायम गर्न जरुरी भएको भन्दै डुडुवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ को सुइया पिप्रहवा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ को भजिपुरवा, जंगलिपुरवा, लोहरनपुरवा तथा नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा पनि तोकिएको थियो ।










प्रतिक्रिया दिनुहोस्