वडाध्यक्ष रिजालको ठगी धन्दाः जग्गा नामसारीका नाममा लाखौँ असुलेको आरोप



शेरबहादुर ऐर । कैलाली ।

सुशासनको ठूलो नारा दिँदै आएको कैलालीको धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिबाटै वडावासी ठगिन पुगेका छन् । धनगढीसहित तराई मधेशको सबैभन्दा ठूलो समस्या हो जग्गाधनी पुर्जा । सोही जग्गाधनी पुर्जा उपलब्ध गराउने नाममा धनगढीका एक जनप्रतिनिधि आफैँ ठगी धन्दामा लागेको पाइएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का भुवन रिजालले जग्गा नापी गराइदिने प्रलोभनमा पारि आफ्नै मतदाताहरूलाई ठगी गरेको पाइएको हो । उनले गत असारमा वडाका विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पारि रकम असुली गरेको वडावासीहरूको गुनासो रहेको छ ।सोही ठाउँका पीडित कृष्ण विकले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष रिजालले आफूबाट जग्गाधनी पुर्जा नापजाँच गराइदिने नाममा पैसा लिएको बताए । ‘जग्गा नाममा गराइदिने भनेर वडाध्यक्ष रिजालले पैसा लिएको हो ।

मेरो जग्गाको निस्सा पनि आएको थियो । वडामा नाम पनि आएको थियो । फाइल पनि आएको थियो । पछि फाइल रोकियो । वडाध्यक्षले माथि विवाद भएर फाइल रोकिएको हो, खर्च लाग्छ भन्नुभयो । अनि पैँसा दिएको हुँ ।’ उनले पत्रकार सम्मेलनमा भने । उनले भने ‘पहिला तीन लाख मागेको हो । पछि दुई लाखमा कुरा मिल्यो । त्यसपछि मैलै असार २३ गते नगदै दुई लाख दिएको हुँ ।’

विकले वडाध्यक्ष रिजालले बाटोमा फोन गरेर बोलाएको र स्कुटरको डिग्गी खोलेर पैँसा हाल्न लगाएको बताए । वडाध्यक्षले माथिसम्मै पैसा दिनुपर्छ भनेर पैँसा लिएको उनले पत्रकार सम्मेलनमा दाबी गरे । उनले आफ्नो पौने १२ कठ्ठा ऐलानी जग्गा रहेको बताए । अहिले आफूले जग्गाको लालपुर्जा नपाएको र पैँसा फिर्ता गर्न वडाध्यक्ष रिजाललाई भन्दा पैँसा पनि फिर्ता नगरेको पीडित विकले बताए ।

यस्तै मिसन टुडेलाई प्राप्त फोन संवादमा समेत वडाध्यक्ष रिजालले पैसा फिर्ताको विषय भेटेर कुरा गर्ने बताएका छन् । उनले भनेका छन्, ‘फागुन २१ गतेसम्म चुनाव गराउन सकेन् भने संसद् पुर्नगठन हुनेछ । फागुन १५ सम्म फेरी अहिलेका सदस्य तथा अध्यक्षहरू नै आयोगमा पुनः आउँछन् । निर्वाचनको मिति घोषणा भएकाले जग्गा नापीसम्बन्धी कुनै काम हुँदैन । भूमिहीनका विषयमा अहिले कुनै काम नहुने भएकाले पुनः अर्को सरकार आएसँगै अहिले आयोगमा भएका व्यक्तिहरू नै दोहोरिनेछन् ।

सोही समयमा जग्गा नापजाँच गराइदिनेछु । तर, अहिले यो विषयमा कसैलाई केही नभन्नुहोला ।’ वडाध्यक्ष रिजालले उनलाई मात्रै नभई वडाका विभिन्न व्यक्तिहरूबाट प्रतिदुई लाखका दरले रकम असुल गरेको स्थानीयहरू बताउँछन् । उनले पीडितसँग पैसा फिर्ता दिने कुरा नगरेको भएपनि सल्लाह गर्नेमात्र भनेका छन् । वडाध्यक्ष रिजालले जग्गा नापजाँच गराइदिने भन्दै कम्तिमा २४ लाख रकम संकलन गरेको स्थानीयहरू बताउँछन् ।

तर, अहिलेसम्म जग्गा नापजाँच नभएपछि रकम फिर्ता माग्ने व्यक्तिहरू बढेपछि उनी वडा कार्यालयमा कमै उपस्थित हुने गरेका छन् । वडाध्यक्ष रिजालसँग हामीले सोही विषयमा कुराकानी गर्न खोज्दा उनले पैसा असुल गरेकोबारे अस्वीकार गरे । उनले भने, ‘मैले पैसा लिएको बारे सबै झुठो हो । मलाई फसाउन केही व्यक्तिले भ्रम फैलाएका हुन् । कसैबाट एक रूपैयाँ पनि लिएको छैन् ।’

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिबार