दसैँ मनाएर भारत फर्किँदै सुदूरपश्चिमेलीहरू



सुदूरपश्चिम ।

भारतको विभिन्न सहरमा रोजगारी गरेर दसैँ मनाउन नेपाल आएका सुदूरपश्चिमका युवाहरू पुनः फर्किन थालेका छन् । दसैँका लागि नयाँदिल्ली, मुम्बई र बैंग्लोरसम्म लगायतका सहरबाट नेपाल आएकाहरू तिहारको मुखमा पुनः रोजगारीका लागि भारत जान थालेका हुन् ।रोजगारीको अवसर नहुँदा र सजिलै भारतमा जान सकिने भएकाले धेरै सुदूरपश्चिमबासीको रोजगारीको केन्द्र भारत बन्दै आएको छ ।

सुदूरपश्चिमबाट लाखौँको संख्यामा यसरी युवाहरू भारतमा रोजगारी गर्न जाने गरेका भएपनि यसको यकिन संख्यासमेत राख्ने गरिएको छैन् ।बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी गौरीफन्टा नाकामा भारतको बैंग्लोर जाने गाडीको लाइनमा भेटिए । एक महिनाको दसैँ बिदा सकेर उनी आफ्नो पुरानै कर्मथलो फर्किँदै थिए । विगत १० वर्षदेखि उनले बैंग्लोरमा पसिना बगाएरै आफ्नो पाँच जनाको परिवार पाल्दै आएका छन् ।

‘घरको खेतीपातीले मुस्किलले दुई महिना खान पुग्छ । पाँच जना छोराछोरी छन्, सबैलाई पढाउनु प¥यो,’ उनले भने, ‘चाडबाड सकेर परदेश जान कसलाई पो रहर हुन्छ र ? तर के गर्नु, बाध्यताले सबै कुरा भुलाउँदो रहेछ ।’ उनको जस्तै अवस्था कैलालीको गौरीगंगा निवासी भीम साउदको पनि छ । उनी भारतको सुरतमा ज्याला मजदुरी गर्छन् र त्यही कमाइले उनको परिवारको चुलो बल्छ । ‘दसैँमा परिवारसँग भेट हुँदा जति रमाइलो लाग्छ, उनीहरूलाई छोडेर हिँड्दा मन त्यति नै भारी हुन्छ,’ साउदले भने, ‘यो बाध्यता कहिलेसम्म हो ? थाहा छैन ।’

प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका महिलाहरू घरायसी कामदारका रूपमा भारत जान थालेका छन् । उनीहरूले त्यहाँ खाना पकाउने, घर सरसफाइ गर्ने, लुगा धुने जस्ता काम गरेर परिवार पालिरहेका छन् । उनीहरूले आफ्ना छोराछोरीलाई पनि सँगै लगेका छन्, ता कि उनीहरूको पढाइ र भविष्य नबिग्रियोस् । उनीहरू जस्तै अहिले दसैँ मनाएर परदेशतिर लाग्नेहरू सयौँको संख्यामा लाइनमा उभिएका भेटिन्छन् ।

दसैँ मनाउन नपाएका कोही भने तिहारका लागि घर फर्किँदै गरेको भेटिन्छन् । नाकामा आउनेजानेहरूको चाहना स्वदेशमै केही काम पाए हुन्थ्यो भन्ने हुन्छ । आफूले जस्तोसुकै दुःख गर्नु परे पनि छोराछोरीको भविष्य सुन्दर होस् भन्ने सोच उनीहरूमा देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रबार