केहीदिन धान काट्न हतार नगर्न सुझाव



नेपालको धानखेती प्रशस्त हुने पश्चिम तराईका जिल्लाहरूमा केही जातका धानहरू पाकेर काट्न मिल्ने अवस्थामा रहेपनि केही दिनसम्म कुरेर काट्न सुरु गर्दा उपयुक्त हुने अधिकारीहरूको भनाइ छ । मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा अझै केही दिन पानी पर्ने सम्भावना रहेकोले धान काट्नका लागि हतार नगर्नु उपयुक्त हुने बताए । पूर्वी क्षेत्रमा त केही दिनसम्म पानी पर्ने सम्भावना कायमै रहेकोले अहिले धान काट्नु उपयुक्त नहुने उनी बताउँछन् ।वीरेन्द्र जैशी । नेपालगन्ज ।

धानबाली कटानका लागि हतार नगर्न कृषि तथा मौसमसम्बद्ध अधिकारीहरूले आग्रह गरेका छन् । नेपालको धानखेती प्रशस्त हुने पश्चिम तराईका जिल्लाहरूमा केही जातका धानहरू पाकेर काट्न मिल्ने अवस्थामा रहेपनि केही दिनसम्म कुरेर काट्न सुरु गर्दा उपयुक्त हुने अधिकारीहरूको भनाइ छ ।

मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा अझै केही दिन पानी पर्ने सम्भावना रहेकोले धान काट्नका लागि हतार नगर्नु उपयुक्त हुने बताए । उनले पूर्वी क्षेत्रमा त केही दिनसम्म पानी पर्ने सम्भावना कायमै रहेकोले अहिले धान काट्नु उपयुक्त नहुने बताए ।

हालसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट मनसुन बहिर्गमन भइसकेको विभागले जानकारी दिएको छ । बाँकी प्रदेशहरूमा पनि मनसुन बहिर्गमन हुने क्रममा रहेको जानकारी दिइएको छ ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निमित्त महाप्रबन्धक रामप्रसाद पाण्डेले लुम्बिनी प्रदेशमा पछिल्लो वर्षाले कुनै क्षति गरेको विवरण अहिलेसम्म प्राप्त नभएको बताए । मनसुन पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट बाहिरिएको जानकारी आएपनि धान काट्ने समय अझै नघर्किएकोले केही दिन कुर्न किसानहरूलाई आग्रह गरे । पाकेर झर्ने अवस्था आइसकेको र पानी पर्ने भएमा तत्काल भण्डारण गर्न मिल्ने अवस्था छ भने धान काट्दा फरक नपर्ने उनले बताए ।

उनले आगैटे (चाँडै पाक्ने) जातका धानहरू पाकिसकेको र एक हप्तामा काट्न सुरु गर्दा हुने अवस्था फिल्ड अनुगमनका क्रममा देखिएको जानकारी दिए । कालानमक फुल्न बाँकी रहेको र सामा मनसुलीका लागि पनि अझै समय रहेको उनले बताए । खेतमा पानी रहेको ठाउँमा केही दिन कुरेर पानी सुक्न दिनु उपयुक्त हुने उनले बताए । किसानहरूलाई धान काट्ने समयमा मौसमसम्बन्धी जानकारीबारे अपडेट भइरहन र भण्डारको उचित प्रबन्ध गरेर धान काट्न आग्रह गरे ।

संघीय सरकारको कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीका अनुसार देशका पूर्वी क्षेत्रमा धान ढिलो पाक्ने र पश्चिम क्षेत्रमा चाडो पाक्ने गरेको बताए । त्यसकारण अहिले पश्चिम नेपालमा धान काट्न सुरु हुने बेला भएको तर हतार गरिहाल्न नहुने उनको भनाइ छ । नेपालबाट मनसुन बाहिरिने क्रममा रहेकोले केही दिन कुरेर धाट्न सुरु गर्दा उपयुक्त हुने उनको सुझाव छ । धान काट्दा सुकाउने जमिन सुक्खा हुनु र भण्डारण गर्ने उपयुक्त व्यवस्था हुनु जरुरी रहेको जोशीको भनाइ छ ।

यस्तै पछिल्ला दुई दिनमा नेपालको इलामस्थित हिमाली गाउँमा सबैभन्दा बढी वर्षा भएको छ । यसअघि हिमाली गाउँमा तीन सय २० दशमलव ६ मिलिमिटर वर्षा भएकोमा यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौरमा तीन सय १५ मिलिमिटर वर्षा भएको छ भने वीरगञ्जमा २ सय ९४ दशमलव ५ मिलिमिटर, इलामको इलाम टि–स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको रेकर्ड भएको छ । यी स्थानमा भएको वर्षाले यसअघिका रेकर्डहरू तोडेको छ ।

वर्षाले कृषिमा गरेको क्षतिको विवरण संकलन हुँदै

पछिल्ला केही दिनयता परेको वर्षाले नेपालको पूवी क्षेत्रमा विपत्ति निम्त्याएको छ । वर्षापछि उत्पन्न बाढी, पहिरोमा परी यो समाचार तयार पार्दासम्म ६० जनाको ज्यान विवरण सार्वजनिक गरिएको छ । तर, कृषि क्षेत्रमा भएको क्षतिको विवरण अझै आइसकेको छैन । संघीय सरकारको कृषि विकास मन्त्रालयले दसैँ बिदाका कारण प्रदेश तहबाट विवरणहरू संकलन गर्न ढिलाइ भएको जानकारी दिएको छ ।

कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ महानन्द जोशीका अनुसार संघीय सरकारले प्रदेश तहका निर्देशनालयहरूबाट विवरणहरू संकलन गर्ने काम सुरु गरेको छ । उनका अनुसार विशेषगारी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाले कृषिमा पनि धेरै क्षति गरेको अनुमान गरिएको छ । पश्चिमका तीन प्रदेशमा छिटफुटबाहेकका स्थानमा वर्षा नभएकोले धेरै क्षति नभएको उनले बताए । प्रदेश निर्देशनालयहरूबाट अनुगमन गरेर क्षतिको विवरण संकलन गरिने उनले बताए ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका निमित्त महाप्रबन्धक रामप्रसाद पाण्डेले आफूहरूले सोमबार अनुगमन गरेको जानकारी दिए । कपिलवस्तुको विजयनगर गाउँपालिकामा बढी पानी परेको र केही ठाउँमा धानबालीमा क्षति गरेको भन्ने खबर आएर गएकोमा ठूलो क्षति नदेखिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २१ गते मंगलबार