शिवु खनाल । दाङ ।
क्रिकेटर शुभम खनाललाई लमहीमा स्वागत तथा सम्मान गरिएको छ । बुधबार लमही नगरपालिका र लमही नगरपालिका वडा नं. ५ को वडा कार्यालयले संयुक्तरूपमा नेपाली यू–१६ क्रिकेटर खनाललाई सम्मान गरेको हो । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा र लमही नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले नेपाली यू–१६ क्रिकेटर खनाललाई सम्मान गर्दै हौसला थपेका छन् ।
नेपाली यू–१६ टोलीले गत शनिबार एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको थियो । शुभमका बुबा केशव खनालले सानै उमेरमा छोरालाई राष्ट्रिय जर्सीमा देख्न पाउँदा परिवारलाई मात्र नभइ सिंगो राष्ट्रलाई गौरभान्वित बनाएको बताए । नेपालका पूर्वकप्तान शक्ति गौचनको प्रशिक्षणमा खारिएका शुभमले आफूलाई लेफ्ट आर्म स्पिन बलरका रूपमा स्थापित गरेका छन् ।
लगातार यू–१६ क्रिकेटको उपाधि जितेको नेपाली टोलीले यसअघि सन् २०१७ र २०१९ मा भएको इस्टर्न रिजन प्रतियोगिता जितेको थियो । त्यस्तै २०२३ मा यू–१६ इस्ट जोन कपकै नामको प्रतियोगिता नेपालले जितेको थियो । नेपाली टोली गत आइतबार बेलुकी स्वदेश फर्किएको हो । साथै ८ देखि २१ असारसम्म मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिंगापुरलाई हराएर उपाधि जित्न सफल खनाल सहितको टोलीलाई सम्मान तथा बधाई प्रदान गरिएको हो ।









प्रतिक्रिया दिनुहोस्