नन्दराम जैशी,सुर्खेत :
वस्ती छेउबाटै भेरी नदी बग्छ । नदीमाथि सुन्दर फाँटहरुमा सजिएका दर्जनौँ वस्ती छन् । ति वस्तीमा बस्ने मान्छे र खेतीयोग्य फाँटहरु तिर्खाएको वर्षौँ बित्यो । तर उनीहरुले अझैँ प्यास मेट्न पाएका छैनन् ।
यो बेदना हो, वीरेन्द्रनगरसँगै जोडिएको बराहताल गाउँपालिका–४ को तरंगा र त्यहाँ आसपासका दर्जनौँ वस्तीको । यी वस्तीमा वर्षौँदेखि खानेपानीको हाहाकार हुँदा नदीको दूषित पानी प्रयोग गर्न बाध्य छन् । जसले वर्षामा झाडापखाला जस्ता रोगहरको मार खेप्नु परेको छ । यता वीरेन्द्रनगर विकासको अग्रपथमा लम्किरहेको छ । तर ति वस्तीहरु बत्तीमुनिको अँध्यारोजस्तै छन् । न यहाँ स्तरीय सडक विस्तार भएका छन् । न त बिजुली नै पुगेको छ ।
आधारभूत आवश्यकता अन्तर्गत स्वच्छ खानेपानीको पहुँचमा समेत यी वस्ती छैनन् । तरंगामा बत्ती बाल्न तार तानिएको चार वर्ष भयो । तर अझै बिजुली बाल्न यहाँका स्थानीयले पाएका छैनन् । २०७८ मा सुरु भएको बिजुलीको लाइन विस्तारले गति नलिँदा भेरी नदी तटीय क्षेत्र माथिल्लो तरंगा, सिम्लेपानी, केलाडी, तल्लो तरंगा, चन्द्रिबाज, साझघाट, कुटालगायतका दर्जन बढी वस्ती अझै अन्धकारमा छन् ।
भेरी नदी किनारका वस्तीहरू सदियौँदेखि खानेपानी, स्वास्थ्य, विद्युत्को पहुँचबाहिर छन् । स्वच्छ खानेपानी अभावले यहाँका अधिकांश नागरिक भेरी नदीको दूषित पानी प्रयोग गर्न बाध्य छन् । बस्तीको पिँधबाट भेरी नदी बग्छ । तर खेतीयोग्य जमिन सिँचाइको अभावले सुक्खा टार बनेका छन् । मानिसहरूको ठूलो बसोबास भएको माथिल्लो तरंगा लगायतका वस्तीमा भेरीको पानी प्रयोग गर्न सोलार लिफ्ट निर्माण गरिएको छ । तर मर्मत र उचित संरक्षणको अभावमा करोडौँ लगानीका संरचना अलपत्र छन् ।
२०७६ मा सोलार सिस्टमबाट भेरीको पानी लिफ्ट गरी माथिल्लो तरंगामा सिँचाइ तथा खानेपानीको सुविधा दिने लक्ष्यका साथ निर्माण गरिएको भेरी लिफ्ट उद्घाटन भएकै दिनदेखि बन्द छ । खेती गर्न आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको स्थानीय ६८ वर्षीया रूपा कामी बताउँछिन् । यसपालि पर्याप्त पानी नपर्दा मिहिनेत अनुसारको उत्पादन लिन नसकेको उनले गुनासो गरिन् ।
उनका अनुसार छेउमै भेरी नदी बग्छ । तर, आकाशे पानी नआई खेतबारी भिज्दैनन् । यो समस्या अहिलेको होइन, उहिल्यै पुर्खादेखिको हो । यी वस्ती तिर्खाएको पुस्तौँ बित्यो । तर राज्य हेरेको हेरेइ छ । तरंगावासी पानीको प्यास मेट्ने आशासहित विकासको बाटो कुरेका कुरेइ छन् ।
नेताहरूले भेरीको पानी बारीमा पु¥याउने आवश्वासन मात्रै बाँड्ने गरेको उनले बताइन् । तरंगामा २०७६ मा सोलार सिस्टममार्फत भेरीको पानी ल्याउन काम सुरु भएको थियो । आयोजना बन्यो, उद्घाटन पनि भयो । तर पानी कहिल्यै आएन । घर छेउ अविरल पानी बग्छ । वस्तीमा शुद्ध खानेपानीको कहर छ ।
गाउँमा बिजुली नहुँदा खानेपानीसँगै खेतबारी सुख्खा रहेको अर्का स्थानीय ललित सुनारले बताए । ‘बिजुली नहुँदा विद्यार्थीलाई पढ्न समस्या छ । विद्यालयमा टिनको पाताले छाएको छ । गर्मीमा भित्र बसेर पढ्न सक्दैनन्,’ उनले भने, ‘बिजुली नहुँदा सिँचाइ गर्न १ करोड बढी खर्चेर निर्माण गरिएको सोलार लिफ्ट आयोजना पनि काम नलाग्ने अवस्थामा छ । त्यही हरेर चित्त बुझाउनुको विकल्प छैन् ।’
गाउँका हुने खानेका घरमा सोलारको उज्यालो पनि छ । तर नहुनेहरूका घर अन्धकारमय छन् । स्थानीय ७० वर्षीया पानसरी कठायतले हुने खानेका घरमा ठूला क्षमताका सोलार बत्ती हुदाँ यसबारे चर्को आवाज उठ्न नसकेको बताइन् । ‘हुदाँ खानेका घरमा सोलार पनि छैन् । विगतमा उज्यालोका लागि वन पैदावार प्रयोग गरिन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो चलन हराएको छ । गाउँमा पानीको समस्या त छदैँ छ । त्यसैमा बत्ती नहुँदा भेरीको पानी खेर गएजस्तो लाग्छ । गाउँ हाहाकार छ । छेउबाट नदी बगिरहेको छ ।’
साविक तरंगा गाविसको केन्द्र रहेको तरंगामा बिजुली पु¥याउन प्रयास नगरिएको पनि होइन । बिजुली तथा पोल विस्तारको ठेक्का लिएका ठेकेदारको बदमासीले तरंगावासी बिजुलीबाट वञ्चित हुनुपरेको स्थानीयसमेत रहेका वडाध्यक्ष बिर्ख सिजापतिले बताए ।
उनले भने, ‘तरंगा आउने सिधा लाइन अनुसार काम गरेको भए आजसम्म बिजुली आइसक्थ्यो । तर बीचमा लाइन ८ नम्बरतिर मोडियो । छिटो लाइन विस्तारको काम अघि बढाउन ठेकेदारसँग छलफल गरेका छौँ । भेरी नदी तटीय क्षेत्रका नागरिकलाई लक्षित गरी सडक निर्माणको काम भइरहेको छ ।’
चालू आर्थिक वर्षदेखि हुड्के–ब्युरेनी–साझघाट–चेपाङ–जामु सडक निर्माण गति लिएको उनले जानकारी दिए ।
कर्णाली प्रदेश सरकारले ठेक्का गरेर खड्का कृष्ण÷श्याम शंकर जेभी काठमाडौँले निर्माणको जिम्मेवारी पाएको छ । ६१ करोड ५९ लाख ३० हजार बजेट रहेको सडक निर्माणको काम २०८३ साल असार १५ सम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । यो सडक तोकिएकै समयमा निर्माण भएको खण्डमा भेरीपारिको ठूलो जनसंख्या सडक पूर्वाधारसँग जोडिने छ ।
वडाध्यक्ष सिजापतिका अनुसार पर्यटकीय उच्च सम्भावना भएको बराहतालबाट लाभ लिन सकिने अवस्था पनि छ । तर पूर्वाधार विकास भएको छैन् । यता स्वास्थ्य चौकी तरंगाले बर्थिङ सेन्टरसहितको स्वास्थ्य सेवा दिन्छ । बर्थिङ सेन्टरका लागि अक्सिजन कन्सन्ट्रेटर, भ्याक्सिन राख्ने फ्रिज पनि राखिएका छन् । तर सञ्चालन गर्न बिजुली छैन् ।
अक्सिजन कन्सन्ट्रेटर बिरामीलाई अक्सिजन दिने सबैभन्दा उपयुक्त र सजिलो विकल्प हो । तर बत्ती नहुँदा सोलारबाट चलाउन निकै समस्या हुने गरेको स्वास्थ्य चौकी तरंगाका प्रमुख चन्द्रकिरण थापाले बताए । उनका अनुसार यहाँ आवश्यकता अनुसारका सबै उपकरणहरु छन् । तर बत्ती नहुँदा अहिले सोलारबाट चलाउन समस्या छ । विगतमा अक्सिजनको अभावमा एक जना बालकले ज्यान गएको उनले जानकारी दिए ।
उनले भने, ‘ती बालकलाई अक्सिजनको आवश्यकता थियो । यहाँको अक्सिजन कन्सन्ट्रेटर बत्तीका कारण चलेन । हामीले वीरेन्द्रनगर रिफर ग¥यौँ । बालक अस्पताल पुग्नासाथ बितेछन् । अक्सिजन भएको भए बचाउन सकिथ्यो । यहाँ राज्यको नजर कहिले पुग्ला ?’
प्रतिक्रिया दिनुहोस्