कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– ११ मा अवस्थित डाइनामिक माध्यमिक विद्यालयले २०औँ स्थापना दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ विद्यालयले शुक्रबार वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
सो अवसरमा विद्यालयमा अध्यनरत विद्यार्थी, शिक्षक र कर्मचारीहरूले रक्तदान गरेकोे विद्यालयका प्रधानाध्यापक रबीन्द्र रेग्मीले बताए । विद्यालय स्थापना भएको २० वर्ष पुगेको अवसरमा वृहत् रक्तदान गरिएको उनले मिसन टुडेलाई जानकारी दिए ।
विद्यालयमा अध्यनरत कक्षा–१२, ब्याचलर र विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरूले रक्तदान गरेको उनले बताए । रक्तदानबाट ८१ पीन्ट रगत संकलन भएको प्रअ रेग्मीले जानकारी दिए । १८ वर्ष पुगेका विद्यार्थीहरूलाई जन्मदिनको अवसरमा केक काटेर नभई रक्तदान गरेर जन्मदिन मनाउन बानी बसाल्न कार्यक्रमले मद्दत गर्ने उनले बताए ।
‘जन्मदिनमा केक काटेर अनावश्यक खर्च गर्नु राम्रो होइन्’ प्रअ रेग्मीले भने, ‘त्यसैले ‘रक्तदान जीवनदान’ गरेर जन्मदिन मनाऊँ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रेग्मीले विभिन्न आरोह अवरोह पार गर्दै विद्यालयले यो स्थानसम्म पुग्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रमको समापन गर्दै विद्यालयका लेखापाल ओमप्रकाश न्यौपानेले रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिए । रक्तदातालाई सम्मानपत्र प्रदान गर्दै उनले विद्यालयलाई सहयोग गर्ने सबैलाई कृतज्ञ व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्