अर्जुन ट्रफीमा डडेल्धुरा र अत्तरियाको लगातार दोस्रो जित



धनगढी– कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरिया र डडेल्धुराले लगातार दोस्रो जित निकालेको छ ।गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको तेस्रो दिन सोमबार भएको प्रतियोगितामा काठमाण्डौलाई हराउँदै अत्तरिया र झापालाई हराउँदै डडेल्धुराले लगातार दोस्रो जित निकालेको हो ।

प्रतियोगिताको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एक सय ४३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनमा समेटिएको थियो । काठमाडौंका लागि सोनु अन्सारीले १५ तथा विपिन आचार्यले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न अत्तरियाका कमल गुप्ताले पाँच विकेट लिए । उनी खेलका म्यान अफ द म्याच घोषित भए । दिपेश कँडेलले दुई तथा सुशील साउद सहाव आलमले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको अत्तरियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । अत्तरियाका लागि विवेक यादवले ३५ बलमा ५३ रनको अविजित पारी खेले । उनले चार चौका र चार छक्का प्रहार गरे । यस्तै, कप्तान सन्तोष कार्कीले २३, सन्दीप क्षेत्रीले १६ र शंकर रानाले १४ रन बनाए ।काठमाडौंका दीपेन्द्र रावत र युनिष ठकुरीले दुई–दुई तथा सुर्य तामाङ, नितेश यादव र विपिन आचार्यले एक–एक विकेट लिए । लगातार दोस्रो जितसंगै अत्तरियाले चार अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ । सोमबार भएको दिनको पहिलो खेलमा डडेल्धुराले झापाको बोस्टन एकेडेमीलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

डडेल्धुराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोस्टनले खराब मौसमका कारण १५ ओभरमा छोट्याइएको खेलमा नौ विकेट गुमाएर ६६ रन मात्र जोड्यो । बोस्टनका लागि सनम बुढाथोकीले सर्वाधिक १७ रन जोडे । दिपु भुजेलले १५ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
डडेल्धुराका लागि कुशल भुर्तेलले ४, अजय चौहानले २ तथा आवाज गौतम, कप्तान सन्दीप, रवि बिष्टले समान १ विकेट लिए । त्यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको डडेल्धुराले निर्धारित १५ ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार गरेको थियो ।

डडेल्धुराका लागि नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान सन्दीप जोराले ३० बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५१ रनमा आउट भए । किरण ठगुन्नाले १० बलमा १ चौका र २ छक्को सहयोगमा नट आउट २१ रन जोडे । विनोद भण्डारी ५ तथा कुशल भुर्तेल २ रनमा आउट भए ।
बोस्टनका लागि अरुण ऐरीले २ तथा पवन कार्कीले १ विकेट लिए । प्रतियोगिताअन्तर्गत मंगलबार पनि दुई वटा खेल हुनेछन् । पहिलो खेलमा न्यू होराईजन बुटबल र दशरथ चन्द एकेडेमी बैतडी प्रतिस्पर्धा गर्नेछन् । दोस्रो खेलमा डीसीए धनगढी र बोष्टन क्रिकेट झापा खेल्नेछन् । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार