प्रेस सेन्टर कोहलपुरले ग¥यो सांकेतिक विरोध



कोहलपुर : प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस भएपछि त्यसको विरुद्धमा सांकेतिक विरोध गरेको छ । सोमबार बेलुका कोहलपुरस्थित न्यूरोड चोकमा कोहलपुरका पत्रकारहरुले मुखमा कालो पट्टी बाँधेर विधेयकको सांकेतिक विरोध गरेका हुन् । सहभागी पत्रकारहरुले ‘जनताको आवाज दबाउन पाइँदैन’, ‘प्रेस स्वतन्त्रता तथा नागरिकका अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न पाइँदैन’, ‘स्वतन्त्र पत्रकारिता हाम्रो अधिकार’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेर विरोध गरेका थिए ।
सरकारले प्रेस स्वतन्त्रता तथा नागरिकका अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको भन्दै विरोध जनाइएको प्रेस सेन्टर कोहलपुरका नगर अध्यक्ष निरज सिंहले बताए । उनका अनुसार विधेयकले नागरिक र प्रेस स्वतन्त्रतामा सरकारले अंकुश लगाउन खोजेको भन्दै विरोध गरिएको जानकारी दिए ।

सो अवसरमा बोल्दै प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिप वाग्लेले वर्तमान सरकारले आम नागरिक र सञ्चार माध्यमको मुख थुन्ने गरी राष्ट्रिय सभामा सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गर्दा गराएको भन्दै संगठनले सांकेतिकस्वरुप विरोध गरिएको बताए । राज्यमा रहेका व्यक्ति र राजनीतिक दलहरुको विरुद्ध बोल्न र विरोध जनाउन पाउनुपर्ने उनको भनाइ थियो ।

नागरिकको मात्र नभई सञ्चार माध्यमको मुख थुन्ने प्रयासले सरकारले विधेयक ल्याएको भन्दै उनले आपत्ती जनाए । सरकारले त्यसलाई परिमार्जन गरेर मात्रै पास गर्नुपर्ने उनको भनाइ छ । उक्त विधेयक गत माघ १५ गते राष्ट्रिय सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट मन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका थिए । सामाजिक सञ्जाल ‘प्लाटफार्म’ र त्यसका प्रयोगकर्तालाई कस्ने गरी ल्याइएको विधेयकमा एक करोडसम्म जरिवाना र पाँच वर्षसम्म कैद हुन सक्ने कडा व्यवस्था राखिएको छ । विधेयक अनुसार नेपालभित्र सञ्चालन हुने जुनसुकै सामाजिक सञ्जाल ‘प्लाटफार्म’ दर्ता हुनुपर्नेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार