कोहलपुर (बाँके) : कोहलपुरमा निर्माणाधिन अत्याधुनिक शवदाह गृह निर्माणका लागि ७८ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ कोहलपुर–११स्थित डुडुवा र रोहिणी खोलाको संगमस्थलमा निर्माणाधिन शवदाह गृह निर्माणका लागि अहिलेसम्म ७८ लाख रुपैयाँ प्राप्त भएको हो । शवदाह गृह निर्माण समितिका संयोजक चक्रबहादुर अधिकारीले शवदाह निर्माणका लागि सहयोग आउनेक्रम जारी छ ।
केहीदिन अघि एभरेष्ट बैंकले ५० लाख रुपैयाँ सहयोग गरेको थियो । कोहलपुर नगरपालिका, बैंक र निर्माण समितिबीचको त्रिपक्षीय सम्झैताअनुसार समितिलाई ५० लाखको चेक हस्तारण गरिएको हो । शवदाह गृह निर्माणको गत असोज १९ गते शिलान्यास गरिएको थियो । अत्याधुनिक प्रविधियुक्त शवदाह गृह निर्माणका लागि कुल १ करोड २५ लाख लागत लाग्ने अनुमान गरिएको छ ।
हालसम्म ग्लोबल आईएमई बैंकले २० लाख,प्याब्सन कोहलपुरले ५१ हजार र गोरखा स्कूलले पनि सहयोग गरेका छन् । गोल्छा समूह र दुगड समूह शवदाह गृहका लागि आवश्यक संरचना निर्माण गरेका छन् । ‘शवदाह गृह निर्माणका लागि सहयोग आउने क्रम जारी छ । निर्माण कार्यसमेत भइरहेको छ । अधिकांश संरचना बनिसकेका छन्’ निर्माण उपभोक्ता समितिका संयोजक अधिकारीले भने ।
हालसम्म सुविधा सम्पन्न शौचालय, दुुई प्रतिक्षालय, समरसेल पानी निर्माण सम्पन्न भइसकेको छ । ढुंगे धारा निर्माणाधिन अवस्थामा छ । अब भने ६० लाख मूल्य पर्ने अध्याधुनिक मेसिन जडान कार्य मात्रै बाँकी रहेको उनले बताए । उक्त मेसिन भारतबाट ल्याइने र आवश्यक प्रक्रिया सुरु भइसकेको अधिकारीले जानकारी दिए ।
फागुन अन्तिमसम्म निर्माण सम्पन्न हुने जनाइएको छ । कोहलपुर नगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएको छ । कोहलपुर नगर विकास समितिबाट ५० लाख रुपैयाँ ऋण लिएर शवदाह गृह निर्माण भइरहेको हो । कोहलपुरमा शवदाह गृह नहुँदा ४२ किलोमिटर दूरी पार गरेर राप्ती सोनारीस्थित अगैया घाट जानुपर्ने बाध्यता हट्ने विश्वास कोहलपुरबासीको छ ।









प्रतिक्रिया दिनुहोस्