बाँसगढी (बर्दिया) ।
पछिल्ला केहि दिनयता बाँके बर्दिया लगायतका तराइका जिल्लाहरूमा चिसो बढेको छ । चिसो सँगसँगै हुस्सु तथा शीतलहरका कारण जनजीवन झनै कष्टकर बन्दै गएको छ । चिसोले धेरैजसो वृद्धवृद्धा, दीर्घरोगी, दैनिक ज्याला मजदुरी गर्ने वर्ग तथा विद्यालयका विद्यार्थीहरूलाई असर पारेको छ ।
चिसो तथा जाडोको जोखिमबाट जोगाउनका लागि सरकारी निकाय तथा विभिन्न संघसंस्थाहरूले दाउरा वितरण गर्नेदेखि न्यानो कपडा वितरण गर्ने जस्ता सामाजिक कार्य गर्दै आएका छन् । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले निकट युवाहरूको संगठन राष्ट्रिय युवा संघ बाँसगढी नगर कमिटीले मंगलबार विद्यालयका विद्यार्थीहरूलाई जाडोबाट जोगाउनका लागि न्यानो कपडाहरू वितरण गरेको छ ।
सरस्वती आधारभूत विद्यालय बेतहनी बाँसगढीमा अध्ययनरत असहाय तथा अति विपन्न वर्गका बालबालिकाहरूलाई चिसोबाट जोगाउनका लागि न्यानो कपडा वितरण गरिएको राष्ट्रिय युवा संघ बाँसगढी नगर कमिटीका अध्यक्ष निशान चन्दले जानकारी दिए ।
चन्दका अनुसार उक्त विद्यालयले बालबालिकाहरूलाई छनोट गरी सिफारिस गरेअनुसार छनोटमा परेका असहाय तथा अति विपन्न बालबालिकाहरूलाई चिसोबाट बचाउनका लागि लगाउने न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा संगठनका स्थायी कमिटी सदस्य तथा पेशागत विभाग प्रमुख राजु पहारी, निराजन शाही, पूजा थारू, बिन्दु खत्री, नवीन खत्री तथा विद्यालयका प्रधानाध्यापकलगायत शिक्षकहरूको सहभागिता रहेको युवा संघले जनाएको छ । संगठनका अनुसार यसप्रकारका सामाजिक कार्यहरूलाई निरन्तरता दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्