पत्रकारहरूको तनाव व्यवस्थापनका लागि अभिप्रेरणा कार्यक्रम




बाँके ।

नेपाल पत्रकार महासंघ बाँकेले ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन अभिप्रेरणा’ कार्यक्रम गरेको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जसँगको सहकार्यमा मंगलबार राजयोग प्रशिक्षण केन्द्रमै अभिप्ररेणा कार्यक्रम गरिएको हो ।

शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अभिप्रेरणा कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र नेपालगन्ज प्रमुख ब्रह्माकुमारी दुर्गा, ब्रह्माकुमारी मुना र ब्रह्माकुमारी आरतीले पत्रकारिताका क्रममा सकारात्मकताको विकास, समय र तनाव व्यवस्थापनका लागि आध्यात्मिक चिन्तन र ज्ञानको आवश्यकतामाथि चर्चा गर्दै व्यवहारिक कार्यान्वयनका लागि योग, ध्यान र साधनामा जोड दिएका थिए ।

ब्रह्माकुमारी दुर्गाले आध्यात्मिकबादलाई समावेश गरेर पत्रकारिता गर्नुपर्नेमा जोड दिइन् । उनले समयको महत्वलाई बुझेर आफू र समाज बदल्ने गरी काम गर्न आग्रह गरिन् । अहिलेको समय विषम् रहेको भन्दै उनले संयमित र जिम्मेवार ढंगले पत्रकारिता गर्न आवश्यक रहेको बताइन् । ब्रह्माकुमारी दुर्गाले जीवनमा सुन्दर रोल निभाउने दृढता लिनुपर्नेमा जोड दिँदै आफूलाई सधैँ तनाव, पीडा र अशान्तिबाट मुक्त गर्नुपर्ने उल्लेख गरिन् । उनले नेपाल पत्रकार महासंघ बाँके शाखासँग सहकार्य गरेर अभिप्रेरणा जागृत गर्ने गरी यो कार्यक्रम गर्न पाउँदा निकै हर्षित भएको बताइन् । उनले ध्यान, योग र साधनामा निरन्तर जोडिन पत्रकारहरूलाई आग्रहसमेत गरिन् ।

अभिप्रेरणा कार्यक्रममा आफ्नो भनाइ राख्दै ब्रह्माकुमारी आरतीले पत्रकारितामा सकारात्मकता र आध्यात्मिक ज्ञानको आवश्यकतामा जोड दिँदै पत्रकारितालाई ‘आध्यात्मिक यात्रा’को संज्ञा समेत दिइन् । उनले पत्रकारिता पनि निरन्तर ‘चार्ज’ हुन जरुरी रहेको बताइन् । ब्रह्माकुमारी मुनाले परिवर्तनको सुरुवात स्वयम् आफूबाट गर्न सके मात्र अरुलाई बदल्न सकिने उल्लेख गरिन् । उनले परिस्थिति परिवर्तन गर्नलाई मनस्थिति परिवर्तन गर्न आवश्यक रहेको भन्दै पत्रकारितामार्फत समाज बदल्न स्वयम् पत्रकारहरूमा पनि सकारात्मकता र आध्यात्मिक चिन्तन हुनुपर्ने बताइन् ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाईले पत्रकारहरूले समय र तनाव व्यवस्थापन गर्दै आफ्नो कर्म गर्नुपर्नेमा जोड दिँदै मानव जीवनमा सकारात्मकता र आध्यात्मिक चिन्तन अति जरुरी रहेको बताए । पत्रकारहरूका लागि गरिएको अभिप्रेरणा कार्यक्रम निकै लाभदायी हुने विश्वास व्यक्त गर्दै उनले यस्ता सिकाई र अनुभवबाट परिपक्वता र आत्मज्ञानको विकास हुने बताए । ‘यो सुखद सुरुवात हो, अब पत्रकारहरूले आफ्नो व्यस्त दिनचर्याका बाबजुद योग, ध्यान र साधनाका लागि समय छुट्याउनुपर्दछ,’ चौलागाईले भने, ‘मनलाई शान्त नराख्दासम्म सकारात्मकता विकास हुन सक्दैन ।’

शाखा अध्यक्ष गिरीले अहिले समाज नकारात्मकतातिर ढल्किरहेको अवस्थामा पत्रकारितालाई पनि नकारात्मक उर्जाबाट मुक्त गर्दै सकारात्मकता विकास गर्न टेवा पु¥याउने, आफूभित्रको संसारलाई चिनाउने र बदल्ने माध्यम आध्यात्म भएकाले आत्मज्ञान सिकाइको प्रस्थान विन्दुको रुपमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्य गरेर अभिप्रेरणा कार्यक्रम आयोजना गरिएको बताए ।

उनले पत्रकारहरूलाई समय र तनाव व्यवस्थापनका लागि जीवनोपयोगी सीप र कला सिकाउने उद्देश्यले पनि यो कार्यक्रम गरिएको बताए । ‘पत्रकारहरूमा सकारात्मकता र आध्यात्मिक ज्ञान विकासका लागि यो हाम्रो सुरुवाती प्रयास हो, यसलाई यहाँहरूले प्रस्थान विन्दुको रुपमा लिनुपर्दछ,’ गिरीले भने, ‘निरन्तरको ध्यान, योग र साधनाका माध्यमबाट आफूलाई सधैं, विनयी, विनम्र, अनुशासित र सन्तुलित राख्न उत्प्रेरित गर्नुपर्दछ । उनले अभिप्रेरणा कार्यक्रमको सहकार्यका निम्ति ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयलाई धन्यवाद दिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष एवम् अभिप्रेरणा कार्यक्रम संयोजक तिलक गाउँलेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरेले पनि पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तनको आवश्यकता र महत्वबारे धारणा राखेका थिए । बाँके शाखाको माघ ४ गते सम्पन्न दोस्रो बैठकले ‘पत्रकारितामा सकारात्मकता र आध्यात्मिक चिन्तन’ अभिप्रेरणा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयसँग सहकार्य गरेर कार्यक्रम गरिएको सचिव कृष्ण ओलीले बताए । उनका अनुसार यो कार्यक्रम सम्पन्न गर्न शाखाले उपाध्यक्ष गाउँलेको संयोजकत्वमा सहसचिव भगतराम थारू र कार्यसमिति सदस्य रजनी योगी सदस्य रहेको कार्यक्रम संयोजन समिति गठन गरेको थियो । कार्यक्रममा करीब ५ दर्जन पत्रकारहरूको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार