कोहलपुर ।
बाँके कोहलपुर नगरपालिका–२ ले स्थानीय थारू कला संस्कृतिको जगेर्ना गर्न माघ मिलन कार्यक्रमको आयोजना गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर वडाले स्थानीय स्तरमा रहेका कलाकारहरूको सम्मान गरेको हो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष हरि कठायतले थारू समुदायको कला संस्कृति संरक्षण गर्ने र उनीहरूको पहिचानलाई उजागर गर्ने उद्देश्यले माघ मिलन कार्यक्रम आयोजना गरिएको बताए । अध्यक्ष कठायतले बाँकेमा थारू समुदायको बाहुल्यता रहेकाले थारू कला र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताए ।
थारू समुदायलाई मात्र नभई वडामा रहेका अन्य सबै समुदायलाई समान रूपमा वडाले हेर्ने गरेको उनको भनाइ छ । थारू समुदायको रहन सहन र कलाको संरक्षण गर्न स्थानीय सरकार तत्पर रहेको अध्यक्ष कठायतले प्रतिवद्धता जनाए ।
थारू समुदायको कला, संस्कृति र इतिहास बचाइ राख्न सबैं एकजुट भई अघि बढ्नुपर्ने उनले बताए । जेष्ठ नागरिकहरूले आफ्नो थारू कला र संस्कृति अहिलेको युवा पुस्ताहरूमा पुस्तान्तरण गर्न जरुरी रहेको उनको भनाइ छ ।
सो अवसरमा कोहलपुर–६ स्थानीय अर्थात् समाजसेवी कमलादेवी मल्लले जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेकी थिइन् । उनले आफ्नो व्यक्तिगत खर्चमा दुई लाख बराबरको न्यानो कपडा वितरण गरेकी हुन् ।
उनका अनुसार चिसो बढेकाले आर्थिक रूपमा विपन्न रहेका जेष्ठ नागरिकरुलाई थोरै भएपनि राहत मिल्ले उद्देश्यले न्यानो कपडा वितरण गरेको उनको भनाइ छ । जेष्ठ नागरिकहरू ज्ञानको भण्डार रहेकाले उनीहरूको हेरचाह र सम्मान गर्न आवश्यक रहेको उनले बताइन् ।
सामाजिक कार्यमा आफू विगत लामो समयदेखि सक्रिय रहेको उनको भनाइ छ ।
विगत लामो समयदेखी शिक्षा र सामाजिक कार्यहरूमा आर्थिक सहयोग गर्दै आएको उनले बताइन् । उनले वडाले गरेको सम्मानले थप सामाजिक कार्य गर्न प्रेरित गरेको जनाइन् ।
कार्यक्रममा वडामा रहेका थारू समुदायको उपस्थितीमा स्थानीय कलाकारहरूले आफ्नो प्रस्तुती दिएका थिए । पुराना थारू भाका र कला संस्कृतिको कार्यक्रममा स्थानीयले प्रस्तुत गरेका थिए ।
‘राष्ट्रिय एकता विविधता हमार शान, थारू भाषा, संस्कृति बचैना हमार अभियान’ भन्ने मूल नाराका साथ वडाको आयोजनामा र मुक्तिनाथ टोल विकास समितिको सह–आयोजनामा माघ मिलन कार्यक्रम भएको हो ।









प्रतिक्रिया दिनुहोस्