प्रथम कोहलपुर युवा सम्मेलन हुँदै



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा प्रथम कोहलपुर युवा सम्मेलन तथा युवा महोत्सव २०८१ हुने भएको छ । कोहलपुर नगर स्तरीय युवा क्लब सञ्जालको आयोजनामा प्रथम कोहलपुर युवा सम्मेलन तथा युवा महोत्सव २०८१ हुने भएको हो । सञ्जालका अध्यक्ष रमेश वरका अनुसार माघ महिनाभित्रै सम्पन्न हुनेगरी महोत्सवको तयारी भइरहेको छ ।

महोत्सवको पूर्वतयारी अन्तर्गत आयोजक मूल आयोजक समिति र उप–समितिहरू गठन गरी परिचालन गरिएको अध्यक्ष वरले बताए । प्रथम कोहलपुर युवा सम्मेलनका लागि नन्दराज बस्नेतको संयोजकत्वमा १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

यस्तै, प्राविधिक व्यवस्थापन, आर्थिक व्यवस्थापन, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन, कला तथा संस्कृति र स्वयम्सेवक व्यवस्थापन उप–समिति गठन गरिएको छ । प्रत्येक उपसमितिमा एकजना संयोजक र दुई जना सदस्य रहेका छन् ।

‘हाम्रो हातमा शक्ति, हाम्रो मनमा उमंग, कोहलपुरका युवाले ल्याउँछन् परिवर्तनको रंग’ भन्ने नारासहित सुरु हुन लागेको महोत्सवमा आधा दर्शन बढी मुख्य विषय रहेका छन् । महोत्सवका मुख्य विषयहरूमा कोहलपुर बहस तथा संवाद कार्यक्रम, विज्ञान सामग्री प्रदर्शनी एवं प्रोत्साहन, स्थानीय युवा उद्यम प्रदर्शन र प्रोत्साहनका कार्यक्रम रहेको अध्यक्ष वरले जानकारी दिए ।

कोहलपुर बृहत कला तथा संस्कृति प्रदर्शनी र संरक्षण, युवा योजना संकलन र प्रोत्साहनका साथै सामूहिक साँस्कृतिक नृत्य प्रतियोगिता र सार्वजनिक भाषण प्रतियोगिता लगायतका कार्यक्रम हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार