कपिलवस्तु ।
व्यापार संघ कपिलवस्तुको आयोजनामा आगमी माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुन गइरहेको नवौँ कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्वसको मूल आयोजक समिति गठन भएको छ ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलको संयोजकत्वमा ५ सय सदस्यीय मूल आयोजक समिति गठन गरिएको महासचिव गोपाल बन्जाडेले जानकारी दिए । महोत्सवलाई सफल पार्न ३० वटा उपसमिति गठन गरिएको उनले बताए ।
महोत्सव सफल पार्नका लागि जनप्रतिनिधि, स्थानीय व्यापारी, उद्योगी, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मीको उपस्थितिमा समिति गठन गरिएको हो ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमशेर अलि मियाँले महोत्सव यस क्षेत्रको चिनारी रहेकाले यसलाई सफल पार्नु सबैको दायित्व रहेको बताए । उनले महोत्सवबाट नयाँपन भित्र्याउनुपर्ने बताउँदै यो महोत्सव सबैको साझा कार्यक्रम हो भन्ने सन्देश दिन सबै आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे । कृषि उत्पादनलाई विशेष प्राथामिकता दिनुपर्ने वडाध्यक्ष नेत्रप्रसाद बेल्वासेले बताए ।
मेला महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकाले महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरूलाई यस क्षेत्रमा रहेका विभिन्न पर्यटकीय स्थानहरूमा अवलोकन गराउनुपर्ने चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताए । महोत्सवलाई सफल पार्न उद्योग वाणिज्य संघको हरेक क्षेत्रबाट सहयोग रहने उनले बताए ।
होटल व्यवसायी संघका अध्यक्ष लेखनाथ घर्ती, नेपाली कांगे्रसका जिल्ला उपसभापति हुमकान्त खनाललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरे ।
कृषि उद्योग पर्यटन र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार भन्ने मूल नाराका साथ सञ्चालन हुन गइरहेको महोत्सवले उद्योग, व्यापार, व्यवसायका साथै स्थानीय कृषिजन्य उत्पादन र उत्पादित वस्तुहरूको प्रचारप्रसार एवम् व्यावसायीकरण गर्ने मुख्य उद्देश्य राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक महादेव पोखरेलले जानकारी दिए । स्थानीय संस्कृति, खेलकुद, पर्यटनसँगै उद्यमशिलतालाई प्रवद्र्धन गरी समुदायमा आपसी एकता र विश्वासको भावना फैलाउने उनले बताए ।









प्रतिक्रिया दिनुहोस्