कोहलपुर ।
नेपाली वामपन्थी राजनीतिका शिखर व्यक्तित्व मोहनविक्रम सिंहद्वारा लिखित ‘का.जलजला’ उपन्यासमाथि बहस गरिएको छ । आइतबार हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा ‘का.जलजला’ माथि बहस गरिएको हो ।
सो अवसरमा बोल्दै नेता सिंहले आफूले थुप्रै किताब लेखे पनि हराउँदै गएको र तिनै हराएका पुस्तकहरूको क्षतिपूर्तिस्वरूप ठूलो आकारमा का. जलजला लिएर आएको बताए ।
जलजला उपन्यासमार्फत आफूले सम्पूर्ण विश्व र ब्रह्माण्डमाथि नै विवेचना गर्ने प्रयास गरेको उनले बताए । ‘उपन्यासमा आएको प्रेम प्रसंगलाई लिएर अनेकौँ प्रश्न गर्ने गरिन्छ, जुन पुस्तकमा थोरै मात्र आएको छ,’ उनले भने, ‘त्यो प्रेम पनि जीवनसँगै जोडिएको छ, दर्शनसँगै जोडिएको छ ।’
आफ्नो दार्शनिक दृष्टिकोण उजागर गर्न आफूले उपन्यासको सहारा लिएको उनले बताए । उपन्यासमा व्यक्तिलाई सम्पूर्ण विश्वसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरेको उनको भनाइ थियो ।
जलजला बजारमा आउनुअघि नै निकै चर्चा पाएकाले बिक्रीवितरण पनि राम्रै भइरहेको उनले बताए । करिब २३ वर्ष लगाएर प्रकाशन गरिएको जलजलाका १५ सयप्रति बिक्री भइसकेको उनले जानकारी दिए ।
प्रतिष्ठानका सचिव केशव निमेषले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण साहित्यकार सागर गैरे र पुस्तक र सिंहको व्यक्तित्वमाथि राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले टिप्पणी गरेका थिए ।
वामपन्थी आन्दोलन र प्रगतिशील साहित्यका शिखर व्यक्तित्व सिंहलाई अतिथिका रूपमा निम्त्याउन पाउँदा गौरवान्वित भएको प्रतिष्ठानका अध्यक्ष पुष्करनाथ रिजालले बताए ।









प्रतिक्रिया दिनुहोस्