सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ : मन्त्री खड्का



श्यामलाल पोखरेल । बुटवल ।

रूपन्देहीको बुुुुुुुुुुुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । विगतका वर्षहरू जस्तै बुुुुुुुुुुुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीले औद्योगिक व्यापार मेला सञ्चालन गरेको हो ।

पुस ३ गतेदेखि १८ गतेसम्म चल्ने व्यापार मेलाको बुधबार नेपाल सरकारका ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले सरकारले परिणाम देखिने गरी काम गर्ने आश्वासन दिए ।

सरकार निजी क्षेत्रसँग सहकार्य र एकता गरेर काम गर्न चाहेको उल्लेख गर्दै सबै मिलेर मुलुक बनाउने अभियानमा लाग्न आग्रह गरे । ‘सरकार साथमा छ,’ उनले भने, ‘तपाईंहरू ढुक्क भएर काम गर्नुस् ।’ निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको लगानी सुरक्षाका लागि सरकार तयार रहेको बताउँदै ढुक्क भएर उद्योग तथा कलकारखानामा लगानी बढाउनसमेत मन्त्री खड्काले आग्रह गरे ।

उद्योगी व्यवसायीको लगानी सुरक्षाका लागि कानुनी जटिलता हटाएर लगानीमैत्री वातावरण बनाउने गरी सरकारले काम गर्ने उनले दाबी गरे । ‘राजनीतिक अस्थिरता भयो अब देशमा केही हुन्न’ भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्दै समस्याको समाधान गर्न दुई मुख्य पार्टीको सरकार बनेको मन्त्री खड्काको भनाइ छ ।

ऊर्जामन्त्री खड्काले यो सरकार बनेपछि दश वर्षभित्रमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने र १६ हजार मेगावाट निर्यात गर्ने योजना सरकारले अगाडि बढाएको बताउँदै सरकार बनेपछि बंगलादेशमा विद्युत् निर्यातका काम सुरु भएको दाबी गर्दै मन्त्री आफँैले सरकारको प्रशंसा गरे ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लगानीको हिसाबले लुम्बिनी प्रदेश सम्भावित प्रदेश भएको बताउँदै लुम्बिनी प्रदेशको विकास अन्य प्रदेशको भन्दा राम्रो भएको दाबी गरे । उनले उद्योगी व्यवसायीका लागि लगानीमैत्री वातावरण बनाउन लुम्बिनी प्रदेश सरकार संघीय र स्थानीय सरकारहरूसँग सहकार्य गर्न तयार रहेको र सहकार्य गर्दै आएको बताए ।

प्रदेश मन्त्री कार्कीले निजी क्षेत्रको लगानीमा हुने यस्ता मेला महोत्सवहरूले मुलुकमा आर्थिक चलायमान हुने र अर्थतन्त्र बलियो हुने विश्वास व्यक्त गरे । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि बुटवल उपमहानगरपालिका निरन्तर रूपमा लागिपरेको बताए । उनले उद्योगी व्यवसायीका समस्या साझा समस्या भएको उल्लेख गर्दै स्थानीय सरकारले समाधान गर्न सक्ने समस्या समाधान गरेर अघि बढ्ने आश्वासन दिए ।

औद्योगिक व्यापार मेला आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक हरिप्रसाद अर्यालले निजी क्षेत्रबाट हुने व्यापार मेलाहरूले अर्थतन्त्र चलायमान हुने बताए ।

उनले बैंकको तरलताका कारण निजी क्षेत्र कमजोर भएको बताउँदै ७, ८ प्रतिशतको बैंकको ब्याजदर १५, १६ प्रतिशत तिर्दा उद्योगी व्यवसायीले ठूलो मार खानुपरेकाले यसतर्फ तिनै तहका सरकारलाई गम्भीर हुन आग्रह गरे ।

बुुुुुुुुुुुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको आयोजना, बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघका संरक्षकत्वमा मेल सञ्चालन भएको हो ।

लगानी लुम्बिनीमा–समृद्धि देशमा भन्ने मूल नाराका साथ बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा सञ्चालित यो मेला २४औँ संस्करण हो । मेलामा ३ लाख बढी दर्शकले अवलोकन गर्ने र १० करोड आर्थिक कारोबार हुने आयोजक संस्था बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अपेक्षा छ ।

मेलामा ५ सय स्टल रहने र मेला प्रवेशका लागि सर्वसाधारणका लागि ७० रूपैयाँ र विद्यार्थीका लागि ५० रूपैयाँको टिकट लाग्नेछ भने ६८ वर्ष माथिका ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरूका हकमा सामाजिक सुरक्षाको परिचयपत्रका आधारमा टिकट निःशुल्क गरिएको छ ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने मेलामा स्थानीय साना तथा घरेलु उद्योग र हस्तकलाका उत्पादनहरू प्रदर्शन गरिनेछ । त्यस्तै, कृषि उत्पादन, स्थानीय तथा लुम्बिनी प्रदेशस्तरीय पर्यटकीय क्षेत्रको प्रदर्शन, उद्योग, व्यापार पर्यटन र कृषि क्षेत्रलाई विकास गर्ने गरी राष्ट्रियस्तरका छलफल तथा गोष्ठीहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

कृृषि, हस्तकला, लघु तथा घरेलु उद्योगको प्रवद्र्धनका लागि सहुलियत दरमा स्टलहरू उपलब्ध गराइएको सञ्चार संयोजक दीपक चापागाईंले जानकारी दिए । व्यावसायिक उत्तरदायित्व तथा पूर्वाधार विकासका लागि प्रतिटिकट शिक्षामा १ रूपैयाँ, स्वास्थ्यमा १ रूपैयाँ र पर्यटनको विकासका लागि ५० पैसा छुट्याइएको छ । त्यस्तै खेलकुदमा ५० पैसा र गौशाला तथा सडक चौपाया व्यवस्थापनका लागि प्रतिटिकक १ रूपैयाँ छुट्याइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस ४ गते बिहीबार