कोहलपुर ।
जिल्लाको बैजनाथ–३ स्थित नौबस्तामा रहेको नौबस्ता बालसुधार गृहबाट एकैपटक १२ जना बाल बिज्याइँकर्ता भागेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
बाल बिज्याइँकर्ता भागेको घटनाको यथार्थ छानबिन गर्नका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले घटनाका सम्बन्धमा छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिको सदस्यमा नेपाल प्रहरीका डीएसपी, सशस्त्र प्रहरी बलका डीएसपी, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी र नौबस्तास्थित बालसुधार गृहका प्रमुख रहेका छन् ।
यही मंसिर १३ गते प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको थियो । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार समितिलाई १५ दिनको समयसीमा प्रदान गरिएको छ ।
‘नौबस्तामा घटेको घटनाको कारणको खोजी, जिल्लामा रहेका दुई बालसुधार गृहमा बारम्बार दोहोरिरहने कारण, समस्या र समाधान तथा सुधार गर्नुपर्ने पक्षहरूको यथार्थ कार्यदिशा प्रदानको जिम्मा दिइएको छ,’ खत्रीले मिसन टुडेसँग भने । जिल्लामा नौबस्ता र डुडुवा गरी दुई वटा बालसुधार गृह रहेका छन् । त्यहाँ विभिन्न समयमा बाल बिज्याइँकर्ता भाग्ने, आपसमा भिड्ने गरेका घटनाहरू दोहोरिरहन्छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले यस्ता घटनाको दीर्घकालीन समाधानको उपाय खोजी गरिने बताए । मंसिर १२ गते दिउँसो ४ः५० मा बालसुधार गृहबाट १२ जना बालबिज्याइँकर्ता भागेका थिए । ९ जनालाई सोही दिन विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको थियो । थप दुई जनालाई १३ गते फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।
एसपी कार्कीले मिसन टुडेलाई दिएको जानकारी अनुसार एक जना अझै फरार छन् । उनको खोजी कार्य जारी रहेको एसपी कार्कीले बताए । यसअघि कात्तिक २६ गते पनि यही बालसुधार गृहबाट तीन जना बालबिज्याइँकर्ता भागेका थिए । उनीहरू अझै पक्राउ पर्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्