कोहलपुरमा करार इन्जिनियर नियुक्त नगर्न माग



बाँके ।

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनीले कोहलपुर नगरपालिकालाई इन्जिनियरको पदपूर्ति नगर्न माग गरेको छ । लुम्बिनी प्रदेश सभाबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुन बनिसकेको अवस्थामा स्थानीय तहले करारमा इन्जिनियर पदपूर्ति गर्न नहुने एसोसिएसनले बताएको हो ।

विधेयकमा सातौँ तहबाट मात्र इन्जिनियरको सेवा प्रवेश हुने व्यवस्था भएकाले विधेयक प्रमाणीकरणको प्रक्रियामा रहेका बेला विधेयकसँग बाझिने गरी छैटौँ तहमा पदपूर्ति गर्न खोज्नु बेठीक भएको एसोसिएसनका प्रदेश सभापति महेश्वर लम्सालले बताए ।

‘छैटौँ तहमा पदपूर्ति एसोसिएसनलाई स्वीकार्य छैन, यो तत्काल स्थगित गरी विधेयक प्रमाणित भएपछि सातौँ तहमा पदपूर्ति गरिनुपर्छ,’ लम्सालले भने, ‘विधेयकमा सातौँ तहमा विज्ञापन गर्ने स्पष्ट प्रावधानलाई स्थानीय तहहरूले नजरअन्दाज गर्न मिल्दैन ।’

छैटौँ तहबाट सेवा प्रवेश गराउँदा इन्जिनियरमाथि अन्याय हुने एसोसिएसनको भनाइ छ । कोहलपुर नगरपालिकाले १७ भदौमा सामाजिक सञ्जालमा एक सूचना जारी गरेर नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, छैटौँ तह, इन्जिनियर पदमा एक जना करार सेवाबाट पदपूर्ति गर्न विज्ञापन गरेको थियो ।

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमबार