कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको नयाँ भवन उद्घाटन गरिएको छ । सोमबार संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापा र पूर्वअध्यक्ष नरेन्द्रप्रसाद शर्मा, राजेन्द्र श्रेष्ठ र चिन्तामणि धितालले संयुक्तरूपमा नवनिर्मत भवन उद्घाटन गरेका हुन् ।सो अवसरमा बोल्दै संस्थापक अध्यक्ष थापाले उद्योग वाणिज्य संघले अहिलेको कठिन अवस्थामा पनि भवन निर्माण सम्पन्न गरेर नयाँ भवनबाट सेवा प्रारम्भ गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे ।
उनले स्थापनाकालदेखि विभिन्न आरोह–अवरोह पार गर्दै अहिले यो स्थानसम्म पुगेको देख्दा गर्व लाग्ने गरेको बताए । त्यस्तै, उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेलले अब सहजै उद्योगी व्यवसायीहरूलाई नयाँ भवनबाट सेवा प्रदान गर्ने उनले जानकारी दिए । पछिल्लो समयको आर्थिक मन्दी र कठिन अवस्थाका बीचमा पनि सबैको साथ सहयोगले भवन निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको बताए ।
२०८१ साउन मसान्तसम्म भवन निर्माण गर्दा १ करोड ५३ लाख ४२ हजार ४ सय ६० रुपैयाँ खर्च भएको बताइएको छ । सोमबारबाटै नयाँ भवनबाट सेवा आरम्भ गरिएको छ । सामान्य रूपमा रिबन काटेर र उपस्थित सबैलाई लड्डु बाँडेर एकअर्काबीच खुसी साटेर उद्घान गरिएको थियो ।
साथै सो अवसरमा चौथो राष्ट्रिय फुटसल टुर्नामेन्ट २०८१ मा विजयी भई उपाधि ल्याउन सफल खेलाडीहरूलाई सम्मानसमेत गरिएको थियो । नयाँ भवन उद्घाटन सँगै खेलमा सहभागी तुल्सीप्रसाद काफ्ले, उेपेन्द्र न्यौपाने, प्रबन्धन रेग्मी, विवश खड्का, लोकेन्द्र ओली, गणेश खड्का, उपेन्द्र क्षेत्री, सौगात सिजापति र नयन मल्ललाई अध्यक्ष पौडेलले खादा र अबिर लगाएर सम्मान गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्