शिवु खनाल । दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रूपान्तरणका लागि निरन्तर खबरदारी गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा मंगलबार घोराहीमा आयोजित मिडिया मन्थन तथा पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलोचना गर्न सञ्चार क्षेत्रलाई अनुरोध गरे ।
‘तथ्यमा आधारित भएर आलोचना गर्नुस् । हामी सच्चिन तयार छौँ,’ उनले भने, ‘आलोचना गर्न नडराउनुस्, हामी सकिन होइन सच्चिन तयार
छौँ ।’ मुख्यमन्त्री आचार्यले आफूहरूको नियतमा कुनै खोट नभएको स्पष्ट पार्दै कमीकमजोरी भए सच्याउन तयार रहेको स्पष्ट पारे ।
राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न र मुलुकमा सुशासन कायम गर्न वर्तमान संयुक्त सरकार बनेको दाबी गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान सरकारले जनमुखी कार्यक्रम अघि सारेको बताए ।
‘हामीले मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिता लागू गरिसकेका छौँ,’ उनले भने, ‘यो आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीको नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ ।’ उनले जिल्ला भ्रमणका क्रममा हुने होटलको खर्चको बिल सरकारले भुक्तानी नगर्ने स्पष्ट पारे ।
अनावश्यक खर्च कटौती गर्न आफूहरू प्रतिबद्ध रहेको उनले बताए । पूर्वविशिष्ट व्यक्तिको नाममा सरकारको ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेको उनको भनाइ छ । पदबहाली गरेको ४७ दिनभित्रै सरकारले सुशासन, पारदर्शिताको क्षेत्रमा केही महत्वपूर्ण काम अघि बढाएको उनको दाबी छ ।
‘सरकारले जनतामा आशा जगाउने कामको थालनी गरेको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘यसमा यहाँहरूको सहयोगको खाँचो छ ।’
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरे ।
पत्रकारितामा विश्वसनीय सूचना र समाचारको अभाव हुन थालेको भन्दै मन्त्री न्यौपानेले एकतर्फी सूचनाले जनतामा भ्रम छर्ने गरेको औँल्याए ।
‘समाज रुपान्तरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘जनताको पक्षमा बुलन्द आवाज उठाउने र संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रबाट भूमिका बढाउन जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्