बर्दियामा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु



बाँके ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित डल्ला सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा एकजना गाइड (पथ प्रदर्शक) को मृत्यु भएको छ । मधुवन नगरपालिका – १ स्थित डल्ला सामुदायिक वनमा शुक्रबार बिहान करिब ८ बजे गैंडाले आक्रमण गर्दा गाइडको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ठाकुरद्वारा नगरपालिका–९ का ३५ वर्षीय मनमोहन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले जानकारी दिए । प्रहरीका अनुसार विदेशी नागरिकसहित तीनजना अवलोकन गर्न वनमा गएका थिए ।

सामुदायिक वनको अवलोकन गर्ने क्रममा विदेशी पर्यटकलाई गैंडालाई आक्रमण गरेको थियो । गैंडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन खोज्दा पथ प्रदर्शक चौधरीको घटनास्थलमा मृत्यु भएको एसपी धितालले बताए ।

गैंडाको आक्रमणमा अमेरिकन पर्यटक ५६ वर्षीय एमसी लेनडन शावन र उक्त वनका चौकीदार ५८ वर्षीय स्थानीय खिन्चु थारू घाइते भएका छन् । उनीहरूको ठाकुरबाबास्थित नगर अस्पतालमा उपचार भएको थियो । चौधरीको अवस्था सामान्य र अमेरिकन पर्यटकको अवस्था मध्यम रहेको छ ।

अमेरिकन पर्यटकलाई थप उपचारका लागि शुक्रबार नै हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
स्थानीय परशुराम चौधरीका अनुसार बच्चासहितको गैंडासँग जम्काभेट हुँदा उनीहरू आक्रमणमा परेका थिए । विदेशी पर्यटकलाई जोगाउन खोज्दा चौधरीको ज्यान गएको उनले बताए ।

गैंडाको आक्रमणबाट एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएपछि बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले सचेत रहन स्थानीयलाई आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८१ भदौ २२ गते शनिबार