बाँके ।
अन्तरपालिका प्याब्सन जिल्ला स्तरीय चित्रकला प्रतियोगिता नेपालगन्जमा सम्पन्न भएको छ । प्याब्सन बाँकेको आयोजनामा प्याब्सन शिक्षा मन्दिरमा शनिबार चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।
चित्रकला प्रतियोगितामा बागेश्वरी एकेडेमी कोहलपुर प्रथम, अरुणदय बोडिङ स्कुल खजुरा दोस्रो, ब्राइट फ्युचर नेपालगन्ज तेस्रो र जिभिएन स्कुल नेपालगन्ज सान्त्वना भएको प्याब्सन बाँकेका अध्यक्ष यम रावतले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा २१ वटा विद्यालयको सहभागिता रहेको थियो । नेपालगन्ज उपमहानगरबाट ७, कोहलपुर नगरपालिकाबाट ६, बैजनाथ र खजुरा गाउँपालिकाबाट समान ३-३ तथा डुडुवा र जानकी गाउँपालिकाबाट समान १-१ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
चित्रकला प्रतियोगिता ‘हरित स्मार्ट शहरको कल्पना’ मा आधारित भएको थियो । प्रथम हुने बागेश्वरी एकेडेमी कोहलपुरले ५ हजार, ट्रफी र प्रमाणपत्र, दोस्रो हुने अरुणदय बोडिङ स्कुल खजुराले ४ हजार, ट्रफी र प्रमाणपत्र, तेस्रो हुने ब्राइट फ्युचर नेपालगन्जले ३ हजार, ट्रफी र प्रमाणपत्र तथा सान्त्वना जिभिएन स्कुल नेपालगन्जले २ हजार, ट्रफी र प्रमाणपत्र पाएका थिए ।
बिजेताहरूलाई शनिबार नै पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको प्याब्सन बाँकेका अध्यक्ष रावतले जानकारी दिए । आगामी दिनहरूमा समेत प्याब्सन बाँकेका यस्तै सिर्जनात्मक गतिविधिहरू गर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्