नयाँ दलको राजनीति सकियो : महासचिव पोखरेल



बर्दिया ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताएका छन् । उपनिर्वाचनबाट जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको दाबी गरे ।

‘२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो,’ एमाले बर्दियाको १०औं अधिवेशनको मंगलबार उद्घाटन गर्दै महासचिव पोखरेलले भने, ‘संसदमा नेपाली कांग्र्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम कांग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’

आफूले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै उनले अब एमालेले सरकारमा कुर्सीको भागबन्डा भन्दा पनि २०८४ को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्नेतर्फ ध्यान दिने बताए ।

आउने चुनावपछि नेकपा एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामथ्र्यमा पुग्नुपर्नेमा उनले जोड दिए ।

महासचिव पोखरेलले पछिल्लो समयमा जातीय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताउँदै उनीहरूको राजनीति सकिएको दाबी गरे ।

‘जातीय नाममा रेशम चौधरीले गरेको राजनीति अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचानवादी र जातीय राजनीति रुचाउन छोडे,’ उनले भने । बर्दियामा एमालेको पुरानो विरासत फर्काउने गरी सबै पार्टी सदस्यलाई लाग्न उनले निर्देशनसमेत दिए ।
अधिवेशनबाट पदाधिकारीसहित १०५ सदस्सीय जिल्ला कमिटी निर्वाचित हुनेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख १९ गते बुधबार