16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

सम्पादकीयः यसरी नै बन्ला त कोहलपुर शिक्षाको हब !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१  

कोहलपुरलाई शिक्षाको हब बनाउने कुरा जोडतोडका साथ उठ्ने गरेको छ । सञ्चारमाध्यम तथा सार्वजनिक कार्यक्रमहरूमा सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरूले सगर्व कोहलपुरलाई शिक्षाको हब बनाउनुपर्ने तर्क पेस गर्ने गरेका छन् । स्थानीय सरकारका जिम्मेवार व्यक्ति तथा शिक्षासँग सरोकार राख्ने व्यक्तिहरूले यो कुरालाई बारम्बार दोेहो¥याइरहने गरेको पाइन्छ ।

एकातिर जिम्मेवार व्यक्तिहरूका यस्ता कुरा सुनिइरहँदा अर्कातिर भने कोहलपुर नगरपालिकाभित्रै परीक्षाको नतिजा विवाद चरमचुलीमा छ । कोहलपुर नगर शिक्षाद्वारा सञ्चालित आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८)को नतिजामा अनियमिता भएको आशंकामा छानबिन समिति गठन गरेर अनुसन्धानको काम भइरहेको छ । परीक्षा नतिजाको विवाद बढ्दै जाँदा शिक्षा शाखामा तालाबन्दी हुनुका साथै विरोधका स्वरहरू सुनिन थालेका छन् ।

के यसरी नै बन्ला त कोहलपुर शिक्षाको हब ? भन्ने प्र्रश्न यतिबेला बलशाली बनेको छ । आधारभूत तह परीक्षा चलिरहँदा पनि प्रश्नपत्र बाहिरिएकादेखि सिसी क्यामेरासम्मका विवादहरू सतहमा नआएका होइनन् । तर ती भित्रभित्रै सामसुम भएका छन् । कोहलपुरमा मात्र होइन, अधिकांश पालिकाको अवस्था यस्तै छ । अझ कतिपय पालिकामा त शिक्षाको अवस्था यो भन्दा पनि गिर्दो छ । शिक्षा क्षेत्रमा थुप्रै विसंगति र विकृतिहरू छन् ।

स्थानीय मात्र होइन, राष्ट्रिय स्तरमै यस्ता समस्या छन् । कोहलपुरमा कक्षा ८ को परीक्षाफल प्रकाशित भएपछि बाहिरिएका केही तथ्यहरूसँगै यो विषयले पुनः चर्चा पाएको छ । यतिबेला कोहलपुरमा शिक्षामा देखिएको बेथितिप्रति विभिन्न कोणबाट बहसहरू चलिरहेका छन् । तर यो विषयले उचित निकास पाउला भनेर कोहलपुरबासी अझै विश्वस्त छैनन् । अधिकांश नगरबासीहरूले नगरपालिकाले बनाएको छानबिन समितिप्रति नै आशंका व्यक्त गरिरहेका छन् ।

यदि निष्पक्ष छानबिन गर्ने हो भने यो समिति भंग गरी विज्ञहरूको छानबिन समिति बनाउनुपर्ने सर्वसाधारणको मागलाई बेवास्ता गरिएको छ । वर्तमान समिति संयोजक नै कुनै दलविशेषको प्रतिनिधि भएकाले निष्पक्ष छानबिन हुन नसक्ने उनीहरूको तर्क छ । तर नगर प्रमुख भने निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता जनाइरहेका छन् । एक जना मात्र नभई यसमा ठूलो गिरोह लागिपरेकाले शूक्ष्म अनुसन्धान गर्नुपर्ने आवश्यकता आँैल्याउँदै आफूलाई सहज वातावरण बनाइदिन पनि उनले आग्रह गरेका छन् ।

विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई हतकडी लगाएर थुनिने उनको दाबी छ । छानबिन समिति बनेकाले आगामी सात दिनभित्र छानबिन समितिले ल्याएको प्रदिवेदन सार्वजनिक गरेर दोषीलाई हत्कडी लगाउने प्रतिबद्धता पनि उनले जनाएका छन् । समितिले पाएको एक साताको समायावधि सकिएको छ । समितिले छानबिनका लागि थप एक साताको समय माग गरेको छ । यस्तो जेलिएको समस्याको छानबिन एक सातामै गर्न सकिने कुरा पनि थिएन ।

समितिले बरु थप दुई साता लगाओस् तर छानबिन गरेर सत्य तथ्य बाहिर ल्याओस् भन्ने आम कोहलपुरबासीको चाहना छ ।
नगर प्रमुखका भनाइ सुन्दा साँच्चै उनी यहाँको शिक्षा क्षेत्रको बेथिथिप्रति चिन्तित छन् भन्ने पनि लाग्छ । तर त्यो त नगर प्रमुखको आश्वासन र तर्क मात्र हो । भावुक भाषण र तर्क दिएर मात्र हुँदैन । त्यसलाई निस्वार्थ र पूर्वाग्रहरहित ढंगले लागू पनि गर्न सक्नुपर्छ । स्वार्थ र पूर्वाग्रह राखेर यस्ता कुरामा कुनै परिणाम हात लाग्दैन । तर्कको प्रयोग दुई किसिमले गरिन्छ ।

एउटा सत्यको उजागर गर्न र अर्को सत्यको ढाकछोप गर्न । अब नगर प्रमुखले गरेका प्रतिबद्धता र तर्क कुन उद्देश्यले प्रेरित छन् भन्ने कुरा परिणामबाट मात्र देखिनेछ । उनका प्रतिबद्धता र तर्कप्रति पछिल्लो समय कोहलपुरबासीमा विश्वास कम हुँदै गएको छ । उनकोे कथनी र करनीमा ठूलो अन्तर रहने गरेको कोहलपुरबासीको टिप्पणी रहँदै आएको छ । आफूले गरेका कुनै पनि निर्णय तलमाथि हुन नहुने मेयरको स्वभावबाट आम कोहलपुरबासी परिचित हुँदै गएका छन् ।

छानबिन समिति निर्माणका सन्दर्भमा पनि उनले यो कुरा देखाएका छन् । यति हुँदाहुँदै पनि यदि नगर प्रमुखले नगरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न खोजेका हुन् भने उनी कुनै दबाब र प्रभावमा पर्नुहुन्न । यदि उनी साँच्चै शिक्षाको सुधारमा चिन्तित छन् र सही नियतले उनले काम गर्न चाहेका हुन् भने विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने जो कोहीलाई कारबाही गर्न पछि हट्नु हुँदैन ।

उनकै पार्टीका व्यक्ति, नगरपालिकाका कर्मचारी, परीक्षा निरीक्षक, शिक्षक, अभिभावक वा वडाअध्यक्ष जोसुकै हुन् दोषी देखिए कडा कारबाही गर्ने हिम्मत नगर प्रमुखले गर्नुपर्छ । बेला यही हो । फलामलाई सही आकार दिने हो भने तातेका बेला नै घन हान्ने हो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख ४, २०८१     5:12:33 PM  |