29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

कोहलपुरमा प्रदेशस्तरीय साइकल प्रतियोगिता हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०  

कोहलपुर ।
नयाँ वर्षको अवसर पारेर लुम्बिनी प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरको आयोजनामा २०८१ वैशाख १ गते लुम्बिनी प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगिता हुन लागेको हो ।

कोहलपुरमा पहिलोपटक लुम्बिनी प्रदेशस्तरीय साइक्लिङ प्रतियोगितामा हुनलागेको स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरका सचिव अमितकुमार पाठकले जानकारी दिए । सो अवसरमा रुपन्देही, प्युठान, दाङलगायत लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी सहभागी हुने जनाइएको छ ।

देउराली मन्दिरलाई धार्मिक पर्यटनस्थलको रूपमा विकास गर्नुका साथै वातावरणको संरक्षण, संवद्र्धन गर्न साइकल प्रयोगलाई संस्कारको रूपमा विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए । ‘स्वस्थ जीवन स्वच्छ वातावरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगितामा आर्मीका खेलाडीसमेत सहभागी हुने क्लबका संरक्षक केशर आलेले बताए ।

कोहलपुर नगरपालिका गेटबाट सुरु भई रत्न राजमार्गमा रहेको देउराली मन्दिरसम्म पुग्ने साइकल प्रतियोगिताका महिला र पुरुष गरी दुई विधा रहेका छन् । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । कोहलपुर नगरपालिकाको मुख्य प्रायोजन, गोरखा युनाइटेड पब्लिक स्कुल र नागरिक हस्पिटलको सहप्रायोजनमा प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रकाशित मितिः बुधबार, चैत्र २८, २०८०     7:06:22 AM  |