18 September 2024  |   बुधबार, अशोज २, २०८१

अवैध कुखुराका चल्ला बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र ४, २०८०  

बाँके ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैधरूपमा ल्याइएको ठूलो संख्यामा कुखुराको चल्ला बरामद गरेको छ । बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले ५९ पेटी (पाँच हजार नौ सय वटा) कुखुराको चल्ला बरामद गरिएको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा, वडा नं १८, भुजइगाउँ र डुडुवा गाउँपालिका वडा नं ६, हिरमिनियाबाट कुखुराको चल्ला बरामद गरेको उनले बताए । बरामद चल्ला ५ लाख ९० हजारबराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार अवैध चल्ला भारतबाट अटोमा राखेर ल्याइएको थियो ।

अटो र अटोचालकलाई समेत नियन्त्रणमा लिइएको डिएसपी डाँगीले जानकारी दिए । प्रहरीले भुजईगाउँबाट ८ किलो माछासमेत बरामद गरेको छ । कुखुराको चल्ला, माछा, अटो, अटोचालकलाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन पठाइएको बाँके प्रहरीले जनाएको छ।

प्रकाशित मितिः आइतवार, चैत्र ४, २०८०     9:56:08 AM  |