19 June 2024  |   बिहिबार, असार ७, २०८१

लक्ष्मी माविको अत्याधुनिक भवन शिलान्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०  

कोहलपुर ।
लक्ष्मी माध्यमिक विद्यालयको नयाँ प्रशासनिक भवनको विधिवत् शिलान्यास गरिएको छ । विधिपूर्वक पण्डितद्वारा पूजाआजा गरी भवनको शिलान्यास गरिएको हो । कोहलपुर नगरपालिका–२ का वडाध्यक्ष हरि कठायतले बुधबार सो भवन शिलान्यास गरेका हुन् । आठ कोठे सो भवन अत्याधुनिक र अपाङ्गमैत्री हुने बताइएको छ ।

लुम्बिनी प्रदेश र कोहलपुर नगरपालिकाको लगानीमा सो भवन निर्माण हुन लागेको हो । लुम्बिनी प्रदेश र नगर पालिकाको आव २०८०÷०८१ को १ करोड २० लाख रुपैयाँ बजेटमा सो भवन निर्माण हुन लागेको जनाइएको छ । सामाजिक विकास डिभिजन कार्यालय नेपालगन्ज बाँकेबाट भएको टेन्डर प्रक्रियामार्फत एनएलबी कन्ट्रक्सनले ८५ लाख ९३ हजार ३ सय १४ रुपैयाँमा सो भवन निर्माणको जिम्मा पाएको छ ।

२०८० फागुन १० गते गरिएको सम्झौता अनुसार असार १५ गतेभित्र सो भवन निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समिति (विव्यस)का अध्यक्ष कुमार आचार्य तथा सदस्यहरू सुमित्रा शाही, सुमित्रा बन, मिना चलाउने, विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्ट, विव्यसका पूर्वअध्यक्ष रामसिंह विक सिद्धनगर टोल विकास समितिका अध्यक्ष देवी धामी र सचिव टेकेन्द्र बिसीलगायत अभिभावकको उपस्थितिरहेको थियो । सो अवसरमा पुजारी जनकराज रेग्मी र गोपालप्रसाद शर्माले विधिवत् पूजाआजा गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०     9:35:18 AM  |