27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

भ्याट लगाउँदा आलुको आयात झन् बढ्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०  

भ्याट नलगाउँदाको अवधिमा भन्दा भ्याट लगाउँदा यो नाका हुँदै २८ करोड मूल्य बढीको आलु आयात भएको नेपालन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

नेपालगन्ज ।
आर्थिक वर्ष २०८०÷८१ को बजेट भाषणमार्फत सरकारले भारतबाट आलुलगायतका तरकारीजन्य बस्तुहरूको आयातमा कमी ल्याउन भ्याट लगायो । आलुमा १३ प्रतिशत भ्याट लगाएपछि यसको आयातमा पनि गिरावट आउनुपर्ने हो तर नेपालगन्ज भन्सार नाकाबाट आलुको आयात घट्नुको साटो बढेको पाइएको छ ।

सरकारले बजेट मार्फत आलु, प्याजलगायत बोडी, सिमी, कोसे तरकारी, केराउ, पालुंगोलगायतका तरकारी तथा सागपातमा कर (भ्याट) लगाउने घोषणा गरेको थियो । आलु विषेश गरी भारतबाट आयात गर्ने गरिएको थियो । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, चालु आर्थिक वर्ष २०८०÷८१ को पुस मसान्तसम्म ८८ करोड ४९ लाख ९६ हजार मूल्यबराबरको ३५ हजार ६ सय २७ मेट्रिक टन आलु आयात भएको छ ।

जबकि गत आर्थिक वर्षको सोही अवधिमा ६० करोड ७ सय ५८ हजार मूल्यको २३ हजार ९ सय ९७ मेट्रिकटन आलु आयात भएको थियो । भ्याट नलगाउँदाको अवधिमा भन्दा भ्याट लगाउँदा यो नाका हुँदै २८ करोड मूल्य बढीको आलु आयात भएको नेपालन्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तरकारीमा भ्याट लगाएपछि तीव्र विरोध भएको थियो । सरकारले त्यति नै बेला आन्तरिक उत्पादनमा मद्दत पुगोस् र नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको स्पष्ट पार्नुपरेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्पष्ट आन्तरिक उत्पादनलाई टेवा पुगोस् भनेर तरकारीमा भ्याट लगाएको बताए पनि नेपालगन्ज नाका हुँदै आयात भएको आलुको तथ्यांकले त्यस्तो देखाएन ।

‘हामी कृषिप्रधान देश भन्छौं, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन,’ डा. महतले त्यतिबेला भनेका थिए ।

स्वदेशमा उत्पादन भएको तरकारीको बजारिकरणका लागि सरकारले सही नीति लिनुपर्ने कृषकहरू बताउँछन् । तरकारीको पकेटक्षेत्रका रूपमा परिचित डुडुवा गाउँपालिका–६ हिरमिनियाका अगुवा कृषक जयपाल मौर्य भन्छन्, ‘स्वदेशमा उत्पादन बढाएर विदेशबाट हुने आयात प्रतिस्थापन गर्नतर्फ हामी लाग्नुपर्छ ।’

मौर्यका अनुसार, यो सिजनमा बाँकेका कृषकले राम्रो आलु उत्पादन गरेका छन् र मूल्य पनि राम्रो पाइरहेका छन् । तर समयमै रासायनिक मल नपाउँदा भने जस्तो उत्पादन हुन नसकेको बताउँदै मौर्य भन्छन्, ‘हाम्रो बाँकेका कृषकका आफ्नै समस्या छन् । भनेका बेला मल नपाउँदा राम्रो उब्जनी भइरहेको छैन । तर नजिकै भारतका कृषकले सबै सुविधा पाएर गरेको उत्पादनसँग हामीले प्रतिस्पर्धा गर्नुपर्छ ।’

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०     9:22:04 AM  |