26 May 2024  |   आइतवार, जेष्ठ १३, २०८१

नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरलाई

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०८०  

कोहलपुर ।

नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । कञ्चनपुरले मंगलबार खेलिएको फाइनल खेलमा बर्दियालाई ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो ।

पहिले ब्याटिङ गरेको दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बर्दिया नेत्रहीन क्रिकेट संघले भने २० ओभरमा चार विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो ।

कञ्चनपुरका लागि दुर्गादत्त पौडेलले एक सय ६ रन बनाएका थिए । सोही योगदानका कारण उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । पदमबहादुर बडैला प्लेयर अफ दी सिरिज घोषित भए । उनले प्रतियोगिता अवधिभरमा कुल तीन सय १२ रन बनाए । उनले चार विकेट पनि लिएका थिए ।

कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता र उपविजेता टोलीका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उनले नगरपालिको आगामी बजेटमा फरक क्षमता भएका खेलाडीहरुका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ८, २०८०     4:24:26 PM  |