नेपालगन्ज भन्सार नाका मात्रै नभई देशभरबाट उच्च निकासी हुने वस्तुको सूचीमा रहेको प्लाइउडको गुणस्तर प्रमाणका नाममा घुमाउरो पारामा भारतले नेपाली प्लाई रोक्न खोजेको उद्योगीहरू बताउँछन् ।
कमल डाँगी । नेपालगन्ज ।
पछिल्लो समय भारतमा अत्यधिक मात्रामा नेपाली प्लाइउड निर्यात भएसँगै उद्योगीहरूमा उत्साह जगाएको थियो । तर यसरी धमाधम निर्यात भइरहेको नेपाली प्लाइउडमा बाधा उत्पन्न हुने गरी भारतले गुणस्तर प्रमाण चिह्नको झमेला झिकेपछि उद्योगीहरूमा तनाव सिर्जना भएको छ ।
यदि गुणस्तर प्रमाण चिह्नका नाममा निर्यात रोकिने अवस्था आयो भने ६० प्रतिशत नेपाली प्लाइउड उद्योग बन्द हुन सक्ने नेपाल प्लाइउड संघका पूर्वअध्यक्ष चम्पालाल बोथरा बताउँछन् । नेपालबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब रूपैयाँबराबरको प्लाइउड निर्यात भएको थियो ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले यस अवधिमा २ अर्ब ८९ करोड २ लाख रूपैयाँबराबरको प्लाइउड भारततर्फ निर्यात गरेको थियो । नेपालगन्जका करिब आधा दर्जन प्लाई उद्योगले भारतमा प्लाई निर्यात गर्दै आएका छन् । नेपालगन्ज भन्सार कार्यालयका अनुसार, यो नाका हुँदै चालु आवको छ महिनामा करिब १४ करोडको प्लाई निर्यात भएको छ ।
खासगरी नेपालमा उत्पादित उत्तीसका बिरुवाहरूबाट निर्मित प्लाइउडको माग भारतीय बजारमा प्रशस्तै रहेको उद्योगी व्यवसायीहरू बताउँछन् । जसका कारण पूर्वी र पश्चिमी दुवै तर्फका नाकाहरूबाट भारततर्फ गत आर्थिक वर्षमा मात्रै ६० लाख क्युबिक मिटर बढी प्लाइउड निर्यात भएको पाइएको हो । धेरै निर्यात हुने ३० वस्तुभित्रको सूचीमा परेको प्लाइउड पछिल्लो ५ महिनामा मात्रै २७ लाख क्युबिक मिटर प्लाइउड निर्यात भएको पाइएको छ ।
खासगरी भारतीय बजारमा बढेको प्लाइउडको मूल्यका कारण नेपालमा पाइने सस्तो मूल्यको प्लाइउडको निर्यात बढेको पाइएको छ । भारतमा प्लाइउडको कच्चा पदार्थको मूल्य बढ्नु, नेपालको निर्माण क्षेत्रमा सुस्तता आउनु र प्लाइउडलाई पनि निर्यातमा नगद अनुदान पाइने वस्तुको सूचीमा समावेश गरिनुले नेपालबाट हुने यसको निर्यात लगातार बढिरहेको नेपाल प्लाइउड उत्पादक संघका पूर्वअध्यक्ष बोथरा बताउँछन् ।
नेपालबाट जाने सस्तो मूल्यको प्लाइउडको खपत भारतका लखनउ, कानपुर, दिल्ली, आग्रा, देहरादुनलगायतका बजारसम्म हुने गरेको छ ।
यसरी नेपाली प्लाइउड धमाधम निर्यात भएका बेला भारतले भने निहुँ खोजेको छ । नेपालबाट यसको निर्यात बढेको जानकारी पाएसँगै भारतले आगामी फेब्रुअरी २८ देखि लागू हुनेगरी प्लाइउड आयातमा भारतीय गुणस्तर प्रमाण (आइएसआई) अनिवार्य गरेको छ ।
हालसम्म बिनाआइएसआई प्लाइउड भारततर्फ निर्यात गरिरहेका नेपाली उद्योगीलाई यसले अवरोध गर्ने प्लाइउड संघले जनाएको छ । भारतले अब आइएसआई खोज्ने भएपछि नेपालबाट जाने प्लाइउडमा केही समस्या सिर्जना हुने भएको छ ।
भारत सरकारले गत भदौ १४ मा राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी फेब्रुअरी २८ पछि प्लाईउडमा आइएसआई प्रमाण अनिवार्य गरेको हो । यसपश्चात नेपाली प्लाइउड उद्योगीले नेपालको उद्योग मन्त्रालयसँग विभिन्न चरणमा छलफल गरेर यसको सहजीकरणको पहल गरिदिन आग्रह गरेको छ ।