सामाजिक संस्थामा राजनीतिक घम्साघम्सी



बाँसगढी ।
नेपालमा राजनीति नहुने क्षेत्र सायदै होला । अरू त अरू अन्तर्राष्ट्रिय स्तरका सामाजिक संघसंस्थालाई पनि राजनीतिले नै गाँजेको छ । केन्द्रमा मात्र होइन, प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय स्तरमा समेत सबै संघसंस्थामा राजनीति नै हाबी छ ।अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रूपमा रहेको रेडक्रसको स्थानीय स्तरका समितिमा पनि राजनीतिको नांगो प्रदर्शन गर्ने गरिएको छ ।

यसैको पछिल्लो उदाहरण बनेको छ, नेपाल रेडक्रस सोसाइटी बाँसगढी उपशाखा । नेपाल रेडक्रस सोसाइटी बाँसगढी उपशाखाको नयाँ नेतृत्व चयनका लागि दलीय भागबन्डा नमिलेपछि शनिबार चुनाव हुने भएको छ । नयाँ कार्यसमितिमा पदाधिकारीहरूको चयनका लागि दुई छुट्टाछुट्टै दलीय प्यानलबीच निर्वाचन हुन लागेको हो ।

शुक्रबार सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता गरिएको छ । आज बिहान १० बजेदेखि मतदान हुने नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखाका मन्त्री गोविन्दप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार नेपाली कांगे्रसबाट सभापतिका उम्मेदवार कमलबहादुर खत्री र नेकपा एमाले, माओवादी, समाजवादी र जसपा गठबन्धनबाट सभापतिका उम्मेदवार कृष्णराज अधिकारी चुनावी मैदानमा उत्रिएका छन् ।

त्यसैगरी, कमलबहादुर खत्री नेतृत्व प्यानलबाट महिला उपसभापतिमा बिना पौडेल, सचिव दिनेशकुमार थापा, कोषाध्यक्ष दिपेन्द्र लामिछाने, उपसचिव जसबहादुर थापा क्षेत्री, उप कोषाध्यक्ष कृष्णकुमारी चौधरी रहेका छन् । त्यस्तै, महिला सदस्यमा ज्ञानु रिजाल, खुल्ला सदस्य अजयप्रसाद तिवारी, रविन्द्रजंग शाह, निरकबहादुर खत्री र राज थारू रहेका छन् ।

त्यस्तै कृष्णराज अधिकारी नेतृत्व प्यानलबाट महिला उपसभापतिमा लक्ष्मी खत्री थापा, सचिव सन्तोष बास्तोला, कोषाध्यक्ष विनोदकुमार परियार, उपसचिव आस्विन पौडेल झिल्को पौडेल, उप कोषाध्यक्ष साजिद गुजर रहेका छन् ।

त्यस्तै, महिला सदस्यमा ललिता थापा, खुल्ला सदस्य धनिराम थारू, नरहरि पौडेल, फर्मनारायण ढकाल र हिक्मतबहादुर खड्का रहेका छन् । निर्वाचनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिनेछ । रेडक्रसमा साधारण र आजीवन सदस्य गरी ३ सय ६० जना मतदाता छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० फागुन ५ गते शनिबार