17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

कोहलपुरमा दृष्टिविहीनहरूको क्रिकेट प्रतियोगिता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०८०  

कोहलपुर ।
‘दृष्टिविहीनहरूको क्रिकेट प्रतियोगिता !’ सुन्दा पनि धेरैलाई अचम्म लाग्न सक्छ । सर्वसाधारणमा दृष्टिविहीनहरूले क्रिकेट कसरी खेल्न सक्छन् भन्ने जिज्ञासा जाग्नु स्वाभाविकै हो । तर दृष्टिविहीनहरू वर्षौंदेखि क्रिकेट खेल्दै आइरहेका छन् । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा समेत दृष्टिविहीन क्रिकेट प्रतियोगिताहरू हुँदै आएका छन् ।

र नेपाली दृष्टिविहीनहरूले यस्ता प्रतियोगिताहरूमा सक्रिय सहभागिता पनि जनाउँदै आएका छन् । दृष्टिविहीनहरूलाई ३ वटा समूहमा वर्गीकरण गरेर क्रिकेट खेलाइँदै आएको छ । ती समूहमा पूरै दुष्टिविहीन, पाँच मिटरसम्म देख्न सक्ने र १० मिटरसम्म देख्न सक्नेहरू सम्मिलित छन् । बी–वान, बी–टु र बी–थ्री गरेर तीनवटा क्याटागोरीबाट छनोट गरेर एउटा समूह बनाइने गरेको नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले बताए ।

‘तर एउटा समूहमा कम्तीमा ४ जना बी–वान (पूर्णरूपमा दृष्टिविहीन)अनिवार्य हुनुपर्छ,’ घिमिरेले भने । क्रिकेटका सम्पूर्ण नियम पालना गर्दै उनीहरूले प्रतियोगितामा भाग लिँदै आएका छन् । तर उनीहरूका लागि आवाजसहितको बलको सुविधा छ । बलभित्रबाट आउने आवाजकै आधारमा उनीहरूले ब्याटिङ र फिल्डिङ गर्ने गरेका छन् । उनीहरूले खेल्ने बल छिन्द्रिङ–छिन्द्रिङ आवाज आउने गरी बनाइएको हुन्छ ।

शुक्रबारदेखि कोहलपुरमा यस्तै प्रतियोगिता सञ्चालन भएको छ । कोहलपुरको क्रिकेट मैदानमा दृष्टिविहीनहरूको राष्ट्रिय क्रिकेट प्रतियोगिता चलिरहेको छ, जहाँ विभिन्न प्रदेशका दृष्टिविहीन महिला तथा पुरुषहरूले सहभागिता जनाइरहेका छन् । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा शुक्रबारदेखि सुरु प्रतियोगिताको उद्घाटन कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुबेदीले गरेकी छन् ।

फागुन ८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा विभिन्न प्रदेशका ६ दुष्टिविहीन समूहले भाग लिइरहेका छन् । शुक्रबार भएको पहिलो खेलमा कर्णाली प्रदेश नेत्रहीन क्रिकेट संघले चितवन नेत्रहीन क्रिकेट क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । त्यसैगरी हिजै बाँके नेत्रहीन क्रिकेट क्लब र कञ्चनपुर नेत्रहीन क्रिकेट क्लबबीच भएको दोस्रो खेलमा कञ्चनपुर क्लब विजयी भएको छ ।

२०६३ सालदेखि नेत्रहीन क्रिकेट संघ नेपालले विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्दै आएको अध्यक्ष घिमिरेले बताए । संघकै नेतृत्वमा नेत्रहीनहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेल्दै आएको उनले जानकारी दिए । ‘नेत्रहीन महिला तथा पुरुषहरूले छुट्टाछुट्टै अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्दै आएका छन्,’ अध्यक्ष घिमिरेले भने, ‘नेत्रहीन महिलाहरूले ४ वटा र नेत्रहीन पुरुषहरूले ५ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।’

घिमिरेका अनुसार सन् २०२३ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको ¥याङ्किङमा नेत्रहीन नेपाली महिलाहरू पहिलो भएका छन् । नेपाली महिलाहरूले युके, भारत र पाकिस्ताजस्ता देशलाई समेत हराएका छन् ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ५, २०८०     9:02:17 AM  |