नेपालगन्ज ।
नेपालगन्ज–बघौडा ४४ किलोमिटर र फत्तेपुर–नारायणपुर २१ किलोमिटर हुलाकी सडकले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ । बिनौना र बैजापुर चोक अहिले बजारको रूपमा विकसित हुँदै गएका छन् । डुडुवाको कम्दी बजारको चहलपहल ह्वात्तै बढेको छ ।
कम्दी बजारमा कुनै बेला सामान्य पसल मात्र सञ्चालन हुन्थे तर अहिले ठूला–ठूला पसल सञ्चालनमा आउन थालेका छन् । हिजोआन यहाँ भीड अत्यधिक लाग्ने गरेको स्थानीय अगुवा सूर्यलाल यादव बताउँछन् । त्यस्तै, पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बिनौनामा अहिले ठूला पसल, होटल र मेडिकल खुलेपछि स्थानीय खुसी छन् ।
हुलाकी सडक बनेपछि अब गाउँको उत्पादन सहज तरिकाले आधा घण्टामै नेपालगन्ज पुगेर बिक्री–वितरण गर्नसक्ने अवस्था सिर्जना भएको छ । बिनौना, बैजापुर र फत्तेपुरमा कृषिमा लगानी गरी तरकारी खेतीमा प्रोत्साहन गर्नसके कृषि उपजबाटै आर्थिक अवस्थामा सुधार आउने बताउँछन् डुडुवा घर भएका पत्रकार राकेश मिश्र ।
बाँके जिल्लाका ग्रामीण क्षेत्र हुलाकी सडक निर्माणसँगै अहिले सुगम बन्दै गएका छन् । हुलाकी सडक निर्माणले राप्ती सोनारीको बैजापुरदेखि नरैनापुरको सुइया बघौडालाई सदरमुकाम नेपालगन्जसँग सीधा सम्पर्क गराएको छ । विगतमा दुर्गम क्षेत्रका रूपमा मानिने नरैनापुरबाट अहिले आधा घन्टामै नेपालगन्ज पुग्न सकिने भएको छ । हुलाकी सडक नरैनापुरबासीका लागि ‘लाइफलाइन’ बन्न पुगेको छ ।
यातायातका साधन सञ्चालन भएपछि भारतमा निर्भर रहँदै आएका गाउँको सम्बन्ध सिधा नेपालगन्ज सहरसँग जोडिएको छ । सडक कालोपत्रे भएसँगै अहिले दैनिकरूपमा यस क्षेत्रमा बस, जीप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवतजावत गर्न थालेका छन् ।
गाउँमा सडक नपुग्दा सीमापारि भारतमा दैनिक उपभोग्य सामान किनबेच गर्नुपर्ने बाध्यता पनि अहिले समाप्त भएको छ । हुलाकी सडकले सो क्षेत्रको मुहार नै फेरिदिएको यादवको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्