निःशुल्क भर्ना गर्दै ब्राइट होपले मनायो सरस्वती पूजा



कोहलपुर ।
नेपालगन्जस्थित ब्राइट होप एकेडेमीले सरस्वती पूजाका अवसरमा विविध कार्यक्रम गरेको छ । सरस्वती पूजाको अवसर पारेर एकेडेमीले सो दिन विद्यार्थीरूको निःशुल्क भर्ना गरेको छ । विद्यालय प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी सरस्वती पूजासहित विविध कार्यक्रम गरिएको थियो ।

बिहानदेखि विद्यार्थीहरूले विद्याकी देवी सरस्वतीको फोटोमा अबिर फूलपाति चढाउँदै पूजा गरेका थिए । सो अवसरमा नयाँ विद्यार्थी भर्ना गर्नुको साथै अक्षरारम्भसमेत गराइएको थियो । सरस्वती पूजाका अवसरमा विद्यालयले विद्यार्थीको निःशुल्क भर्र्ना गरेको थियो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य नवीन शर्माको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै उनले विद्याकी देवी सरस्वतीको पूजा आराधना एक दिन मात्र नभई सधैँ हुनुपर्र्ने र विद्यार्थीहरूले मात्र नभई प्रत्येक व्यक्तिले पूजा आराधना गर्नुपर्ने बताए ।ब्राइट होप एकेडेमीले शैक्षिक गुणस्तर प्रदान गर्नुका साथै दक्ष जनशक्ति उत्पादनमा जोड दिइरहेको उनको भनाइ छ ।

आगामी दिनहरूमा विद्यालयले शिक्षा प्रदान गर्ने मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने उनले बताए ।विद्यालयले युग सुहाउँदो शिक्षामा जोड दिइरहेको विद्यालयका प्रधानाध्यापक कुसुम रानाभाटले बताए ।

सो अवसरमा विद्यालयले गत वर्ष आयोजित अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

 

प्रकाशित मिति : २०८० फागुन ३ गते बिहीबार