महिला ‘कन्डक्टर’ राख्ने भन्दै किनेको बस फेरी नीजिक्षेत्रलाई जिम्मा लगाइएको छ । यसो गर्नु थियो भने दिर्घकालिन हित सोच्दै नसोचेर नीजिक्षेत्रबाट संचालित जति पनि सार्वजनिक यातायात उपलब्ध भएकै ठाउँमा उपमहानगरपालिकाले किन बस किन्यो ? धेरैलाई आश्चार्य पारेको छ ।
नेपालगन्ज ।
बाँकेको नेपालगन्ज उपमहानगरले ३ करोड रुपैयाँमा ७ वटा नगर बस किनेर तामझामसहित उद्घाटन गरेर चलाउन सुरु ग¥यो । मापदण्ड बनाएर चालक भर्ना ग¥यो । महिला चालक र सहचालक राखेर नगर बस गुडाउने नेपालगन्ज उपमहानगरको योजना केही महिनामै भताभुंग भयो ।
महिला चालकको कुरा त परै जाओस् अहिले ती उपमहानगरपालिका आफैँले सञ्चालन गर्न नसकेर निजी क्षेत्रलाई ठेक्का दिएको छ ।
ठेक्का लिएकालाई समेत बस सञ्चालन फलामको चिउरा चपाउनुसरह भएकोे छ । नेपालगन्ज–कोहलपुर सडकखण्डमा चल्ने छोटो दूरीका सवारीसाधन बसपार्कमा पार्किङ गराउने सर्तसहित एउटा निजी कम्पनीलाई नगरबस सञ्चालनको जिम्मेवारी दिइएको थियो ।
तर कुनै पनि छोटो दूरीका बसहरू पार्किङ गर्न बसपार्क नगएपछि उपमहानगरपालिकालाई बुझाउनुपर्ने राजस्व बुझाउन सकेका छैनन् । उनीहरूले यस विषयमा कुनै प्रतिक्रिया दिन नचाहे पनि उपमहानगरपालिकाले नगर बसहरू पार्किङ गर्ने वातावारण नगराएका कारण कुनै आम्दानी हुन नसकेको बताइरहेका छन् ।
नगरबस पार्किङ नभए पनि उपमहानगरको बस भने जसोतसो उक्त कम्पनीले सञ्चालन गरिरहेको हो । आफैँले चलाउँदा बसबाट धेरै फाइदा नहुने देखिएपछि उपमहानगर पछि हटेको हो । आफैँले चलाउँदा आम्दानी र खर्च बराबरी नै रहेको देखेपछि उपमहानगर केही महिनामै नगर बस चलाउने निर्णयबाट पछि हट्दै ठेकेदारको जिम्मा लगाएको हो । ठेकेदारलाई बस चलाउन पनि हम्मेहम्मे परेको छ ।
उपमहानगरपालिकाका राजस्व फाँट प्रमुख वीरबहादुर थापाले केही बुझाउन बाँकी रकमका लागि ताकेता गरिएको बताए । नेपालगन्ज उपमहानगरपालिकाले फाइदाभन्दा घाटा बढी देखेसँगै नगर बस सञ्चालन गर्ने आफ्नै योजनाबाट पछि हटेर सम्पूर्ण जिम्मा ठेक्कामा लगाएको थियो । यो निर्णयले उपमहानगरले तत्काल आफ्नो फाइदा देख्दा चालक बन्ने रहर बोकेका नगर बसका सहचालक महिला भने उही बेला अलपत्रमा परे ।
उप–महानगरले नगर बस ठेक्कामा दिएपछि चालक बन्ने रहर बोकेका नगर बसका ७ जना सहचालक महिला अलपत्र परेका थिए ।
काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिए पनि मोफसलमा नेपालगन्जमा पहिलो पटक ‘कन्डक्टर’ महिला राखेको दाबी गर्दै आएको उपमहानगरले उनीहरूलाई १ वर्ष पनि टिकाउन सकेन । नगरले नगर बस ठेक्कामा गइसकेपछि ठेकेदारबाट आफूले मितव्ययी व्यवहार नपाएका कारण आफूले नगर बस छाड्नुपरेको पूर्वसहचालक सुनिता परियार बताउँछिन् ।
नगर बस सञ्चालनपछि निजी बसको भन्दा स्वाभाविक रूपले नगर बसको भाडा सस्तो हुने र यसले गर्दा सर्वसाधारणलाई राहत मिल्ने आशा स्थानीयले गरेका थिए । बसले विद्यार्थी, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई नियमअनुसारको छुट र महिलालाई सम्माजनक व्यवहार हुने अपेक्षा गरिए पनि नगर बस ठेक्कामा गइसकेपछि स्थानीयको सबै आश सकिएको पूर्वसहचालक परियार सुनाउँछिन् ।
साझेदारी विकास कार्यक्रमका लागि संघीय सरकारबाट प्राप्त विशेष अनुदान रकमबाट नेपालगन्ज उपमहानगरपालिकाले गत असार अन्तिम साता लक्षित वर्गलाई रोजगारी दिने उद्देश्यले बस खरिद गरी गत असोजबाट सञ्चालनमा ल्यायो । ४ वटा ठूला बस २ करोड १५ लाख र ३ वटा साना बस १ करोड २९ लाख रुपैयाँको लागतमा खरिद गरेर उप–महानगरले नगर बसलाई दैनिक रूपमा नेपालगन्जबाट कोहलपुर, खजुरा, गौघाट, बेतहनी, कम्दी रुटमा गुडाइरहेको थियो ।
नगर बसबाट प्राप्त आम्दानी रकम साझेदारी विकास कोषमा जम्मा गरिन्छ । उसो त नगरले कार्यविधि बनाएरै नगर बसमा कार्यरत कर्मचारीको तलब सुविधा, भाडालगायत बस सञ्चालनसम्बन्धी सम्पूर्ण विषय समावेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्