27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

सीमा नाकामा फहरायो नेपालको झन्डा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १, २०८०  

शिवु खनाल । देउखुरी ।
नेपाल–भारत जोड्ने देशकै पुरानो भारतसँग सीमा जोडिएको दाङको कोइलाबास नाकामा राष्ट्रिय झन्डा राखिएको छ । सोमबार सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासले गढवा गाउँपालिका–८ कोइलाबास नाकास्थित सीमा क्षेत्रको नेपाल प्रवेशद्वारमा राष्ट्रिय झन्डा राखेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले एक कार्यक्रमका बीच झन्डोत्तोलन गरेका हुन् । सीमा क्षेत्रमा ४० फिट अग्लो राष्ट्रिय झन्डा राखिएको छ । झन्डात्तोलन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदीले नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पर्यटकको सम्मान तथा स्वागतका लागि पनि कार्यक्रम गर्नुपर्ने बताए ।

कोइलाबास सीमा क्षेत्रमा पर्यटक सूचना केन्द्र स्थापना गर्र्नु आवश्यक रहेको बताउँदै सुबेदीले यहाँका स्थानीय नागरिकले पनि भारतीय पर्यटकलाई स्वागत र सूचना दिनुपर्नेमा जोड दिए । राष्ट्रिय झन्डाले विदेशबाट स्वदेश फर्किने नेपालीलाई नेपाल पुगेको खुसी महसुस हुने उनको भनाइ थियो । ‘विदेशबाट फर्किदा आफ्नो राष्ट्रियताको अभाव हुन्छ,’ प्रमुख जिल्ला अधिकारी सुबेदीले भने, ‘हरेक नेपालीले झन्डा अवलोकन गर्दै खुसी व्यक्त गर्नेछन् ।

जन्मभूमि नेपालको यादले नेपालीलाई थप राष्ट्रियताको भावना जागृत हुनेछ ।’ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुबेदीले वीर गोरखालीले आर्जेको मुलुक भएकाले पुर्खाको सम्मान र मातृभूमिको रक्षार्थ झन्डा राखिएको बताए ।  गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास)ले भारतबाट नेपाल प्रवेश र नेपालबाट भारत प्रवेश गर्दा हरेक नेपालीलाई झन्डाले नेपाल आमाप्रतिको अगाध सम्मान जागृत गराउने बताए ।

‘यो नेपालको प्रतीक र शान पनि हो,’ उनले भने, ‘झन्डाको सुरक्षा सशस्त्र प्रहरीले बलले गर्नेछ ।’ कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले नेपालको राष्ट्रिय झन्डाको संरक्षण एव सम्र्बद्धन गर्ने बताए । नेपालले पनि झन्डा स्थापना गरेसँगै दुवै देशको पहिचान झल्किएको उनले बताए ।

झन्डोत्तोलन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसी, नेपाल बोर्डर आउट पोष्ट प्रस्तावित सीमा सुरक्षा गुल्म कोइलाबासका प्रमुख अर्जुन पौडेल, गढवा गाउँपालिका–८ का वडाध्यक्ष खालिक सिद्दिकीलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १, २०८०     9:51:19 AM  |