27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ २९, २०८०  

कोहलपुर ।
बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यु–१९ महिला क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन् । आइतबारको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित ग¥यो ।

लगातार दोश्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर–११ सँग पराजित भएको थियो । कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिङ गरे पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो । एन्जिला पाठकले अविजित ४२ रन बनाए पनि लुम्बिनीको जितका लागि पर्याप्त भएन । पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन् ।

कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिए ।बागमतीको बलिङमा बिपिशा शाहीले २ विकेट लिँदा क्रिश्मा गुरुङ, मनीषा उपाध्याय र लक्ष्मी रुम्बाले १÷१ विकेट लिए । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा ११६ रन बनायो । बागमतीका लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् जुन क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरिन् ।

ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाए । अतिरिक्तको रूपमा लुम्बिनीले २७ रन दियो । लुम्बिनीको बलिङमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जिला पाठकले १÷१ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकी सोनी पाख्रिन घोषित भइन् । आइतबार नै भएको दोस्रो खेलमा कोहलपुर मेयर–११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित ग¥यो ।

लगातार दोस्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो । कोहलपुर मेयर–११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिङ गरे पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो ।गण्डकीको ब्याटिङमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् ।

कोहलपुर मेयर–११ को बलिङमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिइन् । ४ ओभर बलिङ गर्दै रोयले २५ रन खर्चिन् । भवानी कमाती, प्रतिमा शाह, आरति महतो र रिया शर्माले १÷१ विकेट लिए ।टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर–११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो ।

मेयर–११ का लागि सीमा कुँवरले सर्वाधिक ३० रन योगदान दिइन् जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन् । लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाए । गण्डकीको बलिङमा रचना चौधरी र निरुता जिटीले समान ३ विकेट हात पारे । निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन् । कुसुम गोदार र आकृति तिवारीले १÷१ विकेट हात पारे ।
खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर–११ की हैमवती रोय घोषित भइन् । प्रतियोगिताअन्तर्गत सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ः३० बजे बागमती र सुदूरपश्चिम तथा दोस्रो खेल दिउँसो १ः३० बजे गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मितिः सोमवार, माघ २९, २०८०     9:25:49 AM  |