डुडुवा ।
बाँकेको डुडुवा गाउँपालिकाले सरसफाइ अभियान थालेको छ । गाउँपालिकाले प्रत्येक शुक्रबारका दिन सबै कार्यालयको सरसफाइ गर्ने अभियान सुरु गरेको हो । पालिकामाताहतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायतका कार्यालयहरूहरूमा सरसफाइ गर्न सुरु गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
हप्ताको एकदिन पालिका भित्रका सबै कार्यालयको सरसफाइ गरिने उनले जानकारी दिए । कार्यालयलाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।‘जुनसुकै काम आफैँबाट सुरुआत गर्नुपर्दछ, त्यसैले हामीले आफ्नै कार्यालयबाट सरसफाइ अभियान सुरु गरेका हौँ,’ उनले भने ।
यो अभियानलाई पालिकाका सम्पूर्ण नागरिकसमक्ष सन्देश प्रवाह गरिने र उनीहरूले पनि आफ्नो घर वरिपरि गाउँटोलको सरसफाइमा ध्यान दिने अध्यक्षको विश्वास छ । घर, समुदाय, गाउँटोलसँगै कार्यालयको वातावरण सफा र स्वच्छ बनाउन यो अभियान सञ्चालन गरिएको पालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् ।
शुक्रबारबाट पालिकाले सरसफाइ अभियान सञ्चालन गरेको हो । यसलाई नियमितता दिइने उपाध्यक्ष बानोको भनाइ छ । अध्यक्ष चौधरी, उपाध्यक्ष बानो, प्रमुख प्रशासकीय अधिकृत गिरबहादुर सेजुवाललगायत जनप्रतिनिति र कर्मचारीहरूले बनकट्टीस्थित पालिकाको कार्यालय परिसरको सरसफाइ गरेर अभियानको सुरुवात गरेका थिए ।
यसैबीच, बेतहनी स्वास्थ्य चौकीमा पनि त्यहाँका कर्मचारीले सरसफाइ गरेका छन् । त्यस्तै, डुडुवा गाउँपालिका–५ का युवाको सmित्रयतामा राप्ती नदीको सिधनियाघाट पुलको दक्षिण भागमा समेत सरसफाइ गरिएको छ ।
सरसफाइ कार्यक्रममा वडाध्यक्ष झंकबहादुर थापालगायतको सहभागिता रहेको थियो । अभियानलाई साप्ताहिक रूपमा निरन्तर अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्