नेपालगन्ज ।
नेपालगन्ज भन्सार कार्यालय र सुरक्षा निकायले यो नाका हुँदै जथाभावी सामग्रीको आयात रोक्न तत्परता देखाएपछि सीमावर्ती बजार रूपैडियाका व्यवसायीमा सकस उत्पन्न भएको छ । नेपालीहरू गएपछि मात्रै चल्ने रूपैडिया बजारका व्यवसायीहरू नेपालतर्फ कडाइ गर्दा असन्तुष्ट मात्र भएका छैनन् नेपाली सुरक्षा निकायविरुद्ध ‘प्रपोगन्डा’ गराउनसमेत सक्रिय भएका छन् ।
उनीहरू नेपाली सुरक्षाकर्मीविरुद्ध गतल प्रचारबाजी गर्न थालेका छन् । नेपालीहरू रूपैडियामा दुई कारणले किनमेलका लागि पुग्छन् । एउटा घरायसी सामग्री खरिद अर्को अवैधरूपमा सामान भित्र्याउन अर्थात क्यारिङ गर्न । दैनिक सयौँ नेपाली रूपैडिया पुग्दा नेपालगन्जको बजार भने सुनसान हुने गरेको छ ।
सर्वसाधारणको किनमेलको आकार कमै भए पनि किनमेलका नाममा व्यावसायिक प्रयोजनका लागि हुने क्यारिङको आकार भने असाध्यै ठूलो छ । त्यस्ता तस्करहरूलाई नेपालगन्जकै कतिपय व्यवसायीहरूको साथ रहने गरेको पाइन्छ जसलाई प्रहरी प्रशासनले पक्राउ गर्न सक्दैन ।
सुरक्षा निकाय स्रोत भन्छ, ‘दैनिक ठूलो मात्रामा नेपाली र भारतीय नागरिकसमेत रहेको पेसेवर क्यारिङ गर्ने गिरोहले ल्याएको सामान यहाँ व्यवसायीका गोदाम हुँदै बजारमा बिक्री हुन्छ ।’ ती सुरक्षा अधिकारीहरूका अनुसार तस्करी गरेर ल्याएको सामान व्यवसायीहरूले गोदाममा राखेर बजार पठाउने गरेको तथ्य बेलाबखतमा सार्वजनिक हुने गरेको छ । त्यसरी ल्याइएको सामान छिटफुट मात्रै सुरक्षा निकायको नजरमा पर्ने गरेको छ ।
पछिल्लो समय सशस्त्र प्रहरीले तस्करी मात्रै होइन भन्सारको वैध नाकाबाटै राजस्व चुहावट भएर भित्रिएको सामानसमेत नेपालगन्जबाट बरामद गर्दै आएको छ । अवैध सामानको आयातमा व्यापारीहरूकै संलग्नता हुने गरेको छ । व्यवसायीहरूको संस्था नेपालगन्ज उद्योग संघ भने नाकामा कडाइ गर्नुपर्ने आवाज उठाइरहन्छ ।
दैनिक ६ करोडको सामान रूपैडियाबाट किनमेलका नाममा भित्रिने गरेको भन्दै संघका अध्यक्ष टंकबहादुर धामी भन्छन्, ‘तस्करीमा संलग्नलाई हामी साथ दिँदैनौं । तर किनमेलका लागि हुने कुनै पनि कामलाई कडाइका साथ नियन्त्रण गर्नुपर्छ ।’अहिले नेपालगन्ज भन्सार नाका हुँदै एउटा बोरा चामलसमेत भित्रिन दिइएको छैन ।
तस्करी नियन्त्रणका लागि भन्दै भन्सार कर्मचारी र सुरक्षा निकायले कडाइ गरेपछि जथाभावी रूपैडिया पुग्नेहरूको कमी नाकामा देख्न सकिन्छ । तर तस्करी गर्नेहरू नयाँ–नयाँ उपाय अपनाएर तस्करीमा संलग्न भइरहेका छन् । उनीहरूले नेपालगन्जसम्म सामान पु¥याएकै छन् । बरु सुरक्षा निकायले कडाइ गरेको भन्दै क्यारिङ चार्ज बढाएका छन् ।
सुरक्षा निकायले भन्सारमा तस्करी नियन्त्रणका लागि गरेको कडाइ प्रशंसा गर्नलायक भए पनि तस्करी नियन्त्रणको घानमा थोरबहुद किनमेल गरेर फर्किएकालाई समेत नियन्त्रण गर्नु उचित नभएको कतिपयको भनाइ छ । नेपालगन्ज–१२ का ढिला पुन भन्छन्, ‘तस्करी नियन्त्रणका लागि कडाइ हुनैपर्छ । तर साँच्चिकै घरायासी प्रयोजनका लागि ल्याउने सामानमा कडाइ गर्नु ठीक होइन । कहिलेकाहीँ रूपैडिया पुगेर थोरै सामान ल्याउनेलाई समेत कडाइ गरेको देखियो ।’
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख ध्रुवराज विश्वकर्माले भन्सारलाई सरकारलाई दिएको भूमिकाको कार्यान्वयनबाहेक कसैलाई दुःख दिने काम नगरिएको स्पष्ट पारे । ‘हामीलाई राज्यले जे गर भनेको छ त्योबाहेक अर्को थोक गरेका छैनौँ,’ उनले भने ।
तस्करी नियन्त्रणमा भन्सार र सुरक्षा निकायको काम प्रभावकारी देखिएपछि तस्करीमा संलग्न र रूपैडियाका व्यापार गर्नेहरू आत्तिएका छन् । रूपैडियाका कतिपय व्यापारीले त सामाजिक सञ्जालमार्फत केहीलाई उचालेर नेपालका प्रहरी, प्रशासनविरुद्ध बोल्नसमेत लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्