कोहलपुर ।
कोहलपुरमा राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । माघ २७ गतेदेखि फागुन ३ गतेसम्म कोहलपुर क्रिकेट मैदानमा ‘सुशील कोइराला स्मृति अन्डर–१९ महिला क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।
नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्र्यले कोहलपुरमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना सञ्चालन भइरहँदा त्यसबाट यहाँका सबै क्षेत्रले लाभ लिन सक्ने बताए ।
सो प्रतियोगिताका लागि नगरपालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । नेपाल क्रिकेट संघ (क्यान)को प्राविधिक सहयोगमा सो प्रतियोगिता सञ्चालन हुन लागेको हो । कोहलपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष चिन्तामणि धिताललाई सो प्रतियोगिताको संयोजक तोकिएको छ ।
कोहलपुरमा निर्माणाधीन क्रिकेट मैदानमा सो प्रतियोगिता आयोजना हुनुले क्रिकेट मैदान निर्माणकार्यमा समेत मद्दत पुग्ने राष्ट्रिय खेलकुद विकास समितिका सदस्य लेखबहादुर क्षेत्री (एलबी क्षेत्री)ले आशा व्यक्त गरे ।
प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजक नगर खेलकुुद विकास समितिका अध्यक्ष बुद्धि थापाले जानकारी दिए । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित आयोजक कोहलपुर–११ गरी ५ समूहको सहभागिता रहने प्रतियोगितामा विजेता समूहले १ लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्