कोहलपुर ।
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय बाँकेद्वारा सञ्चालित सिसं ४९औँ वार्षिक सामूहिक क्याम्प जुनियर डिभिजन तेस्रो चरणका क्याडेटहरूले दीक्षान्त लिएका छन् । पश्चिम तालिम शिक्षालय कौशिलानगर कोहलपुरमा आइतबार आयोजित एक समारोहमा राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेशकुमार कार्कीले क्याडेटहरूलाई सपथ खुवाएर दीक्षित गराएका हुन् ।
राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालयबाट यस वर्ष २६८ छात्र र २७९ छात्रा गरी जम्मा ५३७ जना छात्रछात्रा दीक्षित भएका छन् । सो तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १४ जिल्लाका विभिन्न १५ विद्यालयहरूबाट छात्रछात्राको सहभागिता रहेको राष्ट्रिय सेवा दलका शिक्षाधिकृत प्रमुख सेनानी बालकृष्ण कार्कीले जानकारी दिए ।
सो दीक्षान्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपरथी कार्कीले युवाहरूमा नेतृत्व क्षमताको विकास गर्दै राष्ट्रिय एकताको मालामा उन्ने उद्देश्यले राष्ट्रिय सेवा दलको स्थापना गरिएको र सोको जिम्मेवारी नेपाली सेनाले पूरा गर्दै आएको बताए । उनले अनुशासित, इमान्दार र राष्ट्रपे्रमी नागरिक उत्पादन गर्नु नै तालिमको मुख्य उद्देश्यले रहेको जानकारी दिए । विभिन्न विद्यालयबाट विद्यार्थी छनोट गरेर यो तालिम दिइने गरेको उनले बताए ।
उनले यो तालिमले युवाहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्न निकै सहयोग पुगेको विचार व्यक्त गरे । ‘अहिले युवाहरू देश छोडेर विदेशतिर लाग्ने क्रम चलिरहेको छ,’ उपरथी कार्कीले भने, ‘यस्तो अवस्थामा आफ्नो मातृभूमिप्रतिको प्रेम र जिम्मेवारीबोध गराउन पनि राष्ट्रिय सेवा दलले निकै सघाउ पु¥याएको छ ।’
उनले विभिन्न विद्यालयबाट उपस्थित सो तालिमका प्रशिक्षकहरूलाई आग्रह गर्दै भने– ‘हामीले त तालिमका क्रममा वर्षमा एकपटक विद्यार्थीलाई राष्ट्रिय एकता, अनुशासन र देशप्रेमका बारेमा जानकारी दिने हो तर तपाईंहरूले त प्रत्येक दिन विद्यार्थीहरूसँग बिताउनुहुन्छ । त्यसैले विद्यार्थीहरूलाई विदेश जान होइन, स्वदेशमै बसेर केही गर्न उत्प्रेरित गर्नुहोस् ।’
सो अवसरमा तालिममा दीक्षान्त हुने उत्कृष्ट क्याडेट छात्रछात्रालाई प्रमुख अतिथि कार्कीले दज्र्यानी चिह्न प्रदान गरेका थिए । त्यस्तै क्याडेटहरूले प्रमुख अतिथिलाई सलामी अर्पण, कवाज प्रदर्शन, सामूहिक नृत्युु, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्सलगायतको प्रदर्शन गरेका थिए ।
मुलुकका युवाहरूलाई राष्ट्रिय एकतामा बाँध्ये नीतिअनुरुप तत्कालीन सरकारले विसं २०२२ सालमा राष्ट्रिय सेवा दलको गठन गरेको थियो । यसको सञ्चालनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । त्यसयता प्रत्येक वर्ष नेपाली सेनाले यो तालिम सञ्चालन गर्दै आएको छ । हाल मुलुकका ४ स्थान बाँकेको कौशिलानगर, नवलपुरको हात्तिखोर, महोत्तरीको बर्दिबास र मोरङको याङ्शिलामा क्याडेट तालिम सञ्चालन हुँदै आएको छ ।
सो तालिमका विभिन्न विद्यालयबाट छनोट भएका विद्यार्थीहरूलाई तीन महिनासम्म विभिन्न किसिमका जीवनोपयोगी र नेतृत्व विकास गर्नेखालका तालिम दिइँदै आएको छ । वार्षिक सामूहिक क्याम्पमार्फत उनीहरूका लागि सामाजिक कार्य, खेलकुद, सांस्कृतिक तथा प्रतियोगितात्मक अभ्यास एवम् विभिन्न विषयगत विशेषज्ञहरूबाट कक्षा सञ्चालन गरिँदै आएको शिक्षाधिकृत प्रमुख सेनानी बालकृष्ण कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्