नेपालगन्ज ।
नेपालगन्ज–१४ भवानियापुरमा भव्य ‘सिटी हल’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पटक–पटक म्याद थप्दासमेत निर्माण कम्पनी लामा निर्माण सेवाले पाँच वर्ष बित्दासमेत अझै काम सकेको छैन ।
आगामी चैतसम्म निर्माण सक्नुपर्ने समयसीमा पाएको उक्त कम्पनीले अहिले अरू सबै काम सके पनि ‘फिनिसिङ’को काम सक्न बाँकी छ । समयमै काम सके चैतलगत्तै नेपालगन्जले भव्य सिटी हल पाउनेछ । तर नेपालगन्जको मुख्य सहरभन्दा पाँच किलोमिटर पूर्व त्यो पनि साँघुरो सडक पूर्वाधार भएको ठाउँमा निर्माण भएको सिटी हलको उपयोगिताका विषयमा संशय पैदा भएको छ ।
उक्त हलनजिकै रहेको प्रदेश प्रशिक्षण केन्द्र लामो समयसम्म उपयोग हुन सकिरहेको थिएन । अपायक ठाउँमा निर्माण भएकाले सिटीको उपयोगिता के हुने भन्ने संशय भए पनि नेपालगन्जले वर्षौंदेखि माग गर्दै आएको भव्य सभाहल भने पाउनेछ । नेपालगन्ज उद्योग वाणिज्य संघले कारकाँदोस्थित सडक डिभिजनको जग्गा प्राप्त गरी त्यहाँ सिटी हल बनाउने योजना बनाए पनि त्यो कार्यान्वयन हुन नसकेको संघका अध्यक्ष टंकबहादुर धामी बताउँछन् । त्यहाँ सिटी हल बनेको अवस्थामा धेरै उपयोग हुने उनको भनाइ छ ।
सहरभित्रै सभाहलको माग भइरहेका बेला भवानियापुरमा ३३ करोड लागतमा ‘सिटी हल’को निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । त्यो मात्रै होइन नेपालगन्ज उपमहानगरपालिका आफैँले वडा नम्बर ८ मा रहेको पुरानो नगर भवन जीर्ण भएका कारण भत्काएर नयाँ भवन निर्माण सुरु गरेको छ । तर त्यो अलपत्र छ ।
भवानियापुरमा ३३ करोड २८ लाखको लागतमा निर्माण भइरहेको सिटी हलको काम करिब अन्तिम चरणमा पुगेको संघीय आयोजना कार्यालय, सघन सहरी विकास कार्यक्रमले जनाएको छ । संरचना निर्माणको काम सकिएको छ । रङरोगन र फिनिसिङको काम भइरहेको छ । नगरभित्रै अर्को सभाहलका रूपमा टाँगा स्टेसननजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरूपमा निर्माण गर्न लागिएको हो ।
‘अन्डर ग्राउन्ड पार्किङ’ सुविधा भएको व्यावसायिक कम्प्लेक्ससहितको बहुउद्देश्यीय सभाहलको काम सुरु भए पनि निर्माण सम्पन्न हुन सकेको छैन । उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा बेसमेन्टसहितको व्यावसायिक कम्प्लेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउन्ड फ्लोर निर्माण हुनेछ ।
योजनाअनुसार बेसमेन्टबाहेक तीनतले भवन बन्नेछ । तेस्रो तलामा ५ सय जना क्षमताको बहुउद्देश्यीय सभाहल दोस्रो चरणमा निर्माण हुनेछ । पहिलो चरणमा बेसमेन्ट पार्किङ र १९ वटा व्यावसायिक सटर निर्माण हुनेछन् । पार्किङमा १४ वटा चारपांग्र्रे सवारीसाधन र करिब २५ वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्